ग्रिन कफीको नाममा प्रतिकिलो ३९ हजार ठगी गर्ने रसियन नागरिकसहित २ पक्राउ


काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ग्रिन कफीको नाममा ठगी धन्दा चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। कास्की पोखरा महानगरपालिका–१९ घर भएका ४२ वर्षीय आशिष आचार्य र रसियन नागरिक ३० वर्षीय इगोर कुट्सलाई पक्राउ गरेको हो।

नयाँबजारको खुसीबुमा टिम वान सप्लायर्स प्रा।लि। खोलेर उनीहरुले ग्रिन कफी भन्दै ठगी गर्ने गरेको सिआइबीको दाबी छ। गत कात्तिकदेखि उनीहरुले यसरी ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको सिआइबीका प्रमुख सहकुल थापाले जानकारी दिए।

उनीहरुले प्रतिकेजी ९६० रुपैयाँमा ल्याउने र विभिन्न केमिकल हालेर प्रशोधित गरेपछि प्रतिकेजी ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा थापाले जानकारी दिए। १ किलोमै ३९ हजारसम्म नाफा लिई ठगी गर्दै आएको थापाले बताए।

कात्तिकदेखि अहिलेसम्म ७ करोड रुपैयाँ बराबरको कारोबार गरिसकेको देखिएको सिआइीका प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिइन्। जसमध्ये २ करोड रुपैयाँ हुण्डीमार्फत भारत पुगेको र केही रकम भने रसियामा समेत पुगेको अनुसन्धानबाट खुलेको पन्तले बताइन्।

आचार्यको नाममा कम्पनी दर्ता गरेर उनीहरुले ग्रिन कफीको व्यापार गर्दै आएका थिए। उनीहरुले बिना व्यायाम, बिना डाइटिङ, कुनै साइडइफेक्टबिना एक हप्तामै मोटोपन घटाउँछ भन्दै अनलाइनमाफत् विज्ञापन गरेर ठगी गर्थे।

एक हप्तामै १३ किलोसम्म तौल घटाउने भन्ने विज्ञापन आएपछि सिआइबी टोलीले समेत १ किलो उक्त ग्रिन कफी किनेर यसको परीक्षण समेत गरेको थियो। पत्रकार सम्मेलनमा एसपपी पन्तले विज्ञापनमा दाबी गरेजस्तो कुनै चमत्कार नभएको र चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको बताइन्।

उक्त कफी सेवन गरेपछि कुनै चमत्कार नहुने उल्टो रिंगाटा लाग्ने, वान्ता आउने, यौन इच्छा कम हुने जस्ता गम्भीर असर पर्ने गरेको पाइएकाले सोही अनुसार उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारबाही हुने सिआइबीले जनाएको छ।

सिआइबीले उनीहरुको साथबाट २५ थान ल्यापटप, १२ वटा जुटको बोरामा प्याक गरिराखेको अवस्थामा ६४४ केजी कफी, बिक्री वितरणको लागि तयारी अवस्थामा राखिएको १०० ग्रामको २८२२ प्याकेट हरियो कफी, ३ लाख ९७ हजार नगदलगायत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया