कान्तिपुरकाे ‘इट्स माइ शो’ विरुद्ध नायिका जसिता गुरुङको उजुरी
काठमाडौं- नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘इट्स माइ शो’ मा आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रेस काउन्सिलमा लिखित उजुरी गरेकी छन् ।
टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा परेको छ । ओसिन सिटौलाले होस्ट गरेको पहिलो एपिसोडमा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहलाई अतिथि रुपमा आमन्त्रण गरिएको थियो ।
उक्त कार्यक्रममा एउटा सेग्मेन्ट अन्तर्गत खेल खेलाउने भन्दै होस्ट ओसिनले अभिनेत्रीद्वयलाई विभिन्न प्रश्न सोध्छिन् । जसमा अभिनेत्री जसिताका प्रेमीहरुको बारेमा समेत प्रश्न सोध्छिन् । स्वस्तिमा र साम्राज्ञीले उनका प्रेमीहरुको नामै खुलाउँछिन् ।
जसिताले उक्त कार्यक्रमबाट आफू र आफ्नो परिवारलाई असर पुगेको भन्दै उजुरी दिएकी हुन् । उजुरीमा उक्त एपिसोडको भिडियो हटाउन तथा मिडिया हाउस र कार्यक्रम प्रस्तोतालाई कारबाही गर्न अनुरोध गरिएको छ ।
चौतर्फी रुपमा आलोचना भएपछि कार्यक्रम प्रस्तुतकर्ता र कान्तिपुर टेलिभिजनले कार्यक्रम हटाएका छैनन् भने क्षमायाचना समेत गरेका छैनन् ।
प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई जवाफ दिन पत्र लेखिसकेकाे छ ।