असई थमन विकको हत्या प्रकरणमा फरार पूर्व सांसद पक्राउ


काठमाडौं –  सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा फरार रहेका मधेश प्रदेशका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका–५ पोखरीभण्डाबाट पक्राउ गरेको हो ।

महोत्तरीका डीएसपी सन्तुलाल जैसवालका अनुसार उनलाई अदालतमा पेश गरिएको छ ।

लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । २०७४ मा यादव तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो ।

महोत्तरी जिल्ला अदालतले विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

सोही प्रकरणमा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले भने सफाइ पाएका थिए ।

प्रतिक्रिया