नक्कली भुटानी शरणार्थी प्रकरण : जसले अनुसन्धान सुरु गरे उनैले निष्कर्षमा पुर्‍याए

अनुसन्धानमा तानिँदै आरजुदेखि सिटौलासम्म


काठमाडौं – राजनीति दबाब र गुटबन्दीको व्यावसायिकता संकट फस्दै गइरहेको बेला नेपाल प्रहरीको गरिमा जोगाउने एक अधिकृत हुन डीआईजी डा.मनोजकुमार केसी ।

नेपालका बहुचर्चित अपराधका काण्डमध्ये एक हो नक्कली भुटानी प्रकरण । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भिभिआईपी गिरोहमाथि धावा बोल्ने अधिकृत मनोज केसीको चर्चा पछिल्लो समय चुलिदो छ ।

व्यावसायिक प्रहरी अधिकृत डा केसी हाल प्रहरीको विशेष व्युरोमा छन् ।

अपराध महाशाखामा एसएसपी हुँदा नक्कली भुटानी शरणार्थीको फाइल खोलेका केसीले डीआईजी भएर विशेष व्युरोमा पुगेर त्यसको अनुसन्धान निस्कर्षमा पुर्याउन सफल भएका छन् ।

सो प्रकरणमा फरार रहेका मुख्य अभियुक्त बेचन झा पक्राउ परेसंगै यो प्रकरण अन्तिम अवस्थामा पुगेको छ ।

डा.केसी नेतृत्वको व्युरोले भारतमा लुकेर बसेर झालाई राष्ट्रिय अन्तराष्ट्रिय सम्वन्य गरेर पक्राउ गर्न सफल भएका हो ।

नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहले गृह मन्त्रालय मार्फत नै नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ असुलेको प्रकरणमा अनुसन्धान गर्ने कामको सुरुवाता केसीले अपराध महाशाखाको एसएसपी हुँदा गरेका थिए ।

जुन प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोराको समेत संलग्नता देखिएको छ । उनी पक्राउ परिसकेका छन् ।

यसबाहेक तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए ।

अमेरिका पठाउने भन्दै नपठाएपछि उजुरी लिएर पीडित अपराध महाशाखा पुगेका थिए ।

हालका आइजिपी वसन्त कुँवर सो कार्यालयको प्रमुख भएकै बेला पीडितले उजुरी दिएका थिए । तर आईजीपी कुँवरले अनुुसन्धान गर्नुको साटो फाइल नै लुकाए । त्यसको सुचना तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसम्म पुर्याए ।

तत्कालीन समयमा कुँवर एसएसपी हुँदा उजुरी आधारमा केशव दुलाल र टंक गुरुङ पक्राउ परे । त्यतिबेला कांग्रेस नेतृत्वको सरकार थियो । सरकारका गृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाण थिए । खाणले नै टेकनारायण पाण्डेलाई गृहसचिव बनाएर ल्याएका थिए ।

त्यतीबेला पक्राउ परेका दुलाल र गुरुङलाई सचिव पाण्डेको आदेशमा कुनै अनुसन्धान नगरी छाडिएको थियो । त्यसको एक वर्षपछि कुँवर १२ औं नम्बरको एसएसपीबाट १ नम्बर डीआईजी हुँदै आईजीपी नियुक्त भए ।

खासमा महाशाखामा हुँदा कुँवरले गरेको त्यही सहयोगको गुन गृहमन्त्री खाणले आईजीपी बनाएर तिरेका थिए । कँुवरले अनुसन्धान अगाडी बढाएको भए बहालवाला गृहमन्त्री खाणसम्मै त्यसको कनेक्सन देखिन्थ्यो ।

त्यसैले नक्कली भुटानी प्रकरण गुपचुप भयो ।

कुँवर आइजिपी भएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड एसएसपी जनक भट्टराईले सम्हाले ।

नक्कली भुटानी प्रकरणमा जोडिएका गिरोहकै योजनाअनुसार एसएसपी जनक भट्टराई अपराध महाशाखाको नेतृत्वमा पुगेका थिए । ६ महिनासम्म उनले नक्कली भुटानी प्रकरणबारे आएको सुचनालाई वास्ता गरेनन् ।

भट्टराईपछि एसएसपी मनोज केसी आए । आउनुअघि नै पीडित उपत्यका अपराध अनुसन्धान कार्यालयमा धाउन भने थालिसकेका थिए ।

उनी महाशाखामा आएपछि हिम्मतका साथ आएका उजुरीका आधारमा अनुसन्धान अगाडी बढ्यो । सो अनुसन्धान प्रहरी इतिहासकै साहसीक अनुसन्धान बन्न पुगेको छ ।

केसीको पहलपछि घटनाका योजनाकारहरुले केही पीडितलाई रकम पनि फिर्ता गरे । तर नेताहरुलाई बुझाएको रकम फिर्ता पाउने अवस्था भएन ।

केसी आएपछि चैत १२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङका केशव दुलाल, टंक गुरुङ र ललितपुरका सानु भण्डारीलाई पक्राउ गर्यो ।

उनीहरुले मौखिक बयानमा सुरुमा आफुहरु संलग्न नभएको बताएका थिए । तर आर्थिक कारोबार भएको स्विकार गरेका थिए ।

सुरुमा आर्थिक पाटो मात्रै देखिएपछि प्रहरीले तीनजनामाथि ठगीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट अनुसन्धान म्याद लिएर अनुसन्धान अगाडी बढायो । एसएसपी केसी प्रमाण संकलनमा सक्रिय हुँदै गए ।

सुरुमा २४ दिन बित्न लाग्दासमेत प्रहरीले प्रमाण जुटाउन सकेन ।

प्रहरीले उनीहरूको मोबाइलमा भेटिएका प्रमाणको आधारमा २९ चैतमा  सन्देश शर्मालाई पक्राउ गर्यो ।

शर्माको मोबाइल भेटियो । त्यसअघि पक्राउ परेका दुलाल, गुरुङ, भण्डारी, सागर राईलाई २१ दिनपछि अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं प्रहरी परिसरमा पठाएको थियो ।

त्यतिबेलासम्म चारजनाले शरणार्थी प्रकरणमा संलग्नता नभएको दाबी गर्दै आएका थिए ।

महाशाखाले जब शर्माको मोबाइल हेर्न थाल्यो त्यसपछि भेटिन थाले प्रमाण । प्रहरी अनुसन्धानले बाटो समात्यो ।

मोबाइलको डिएफएलबाट नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धमा हाई प्रोफाइलकै व्यक्तिको संलग्नता देखिने क्लु भेटियो ।

त्यही क्लुको आधारमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई ,सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल लगायत पक्राउ परे ।

दुई दिनअघि मात्रै मुख्य योजनाकार मानिएका बेचन झा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक पक्राउ परिसकेका छन् ।

हाई प्रोफाइललाई पक्राउ गर्ने हिम्मत चानचुने भने थिएन् । एसएसपी डा.केसीले हिम्मत जुटाए । प्रहरीको चौतर्फी प्रशंशा भयो,भइरहेको छ ।

प्रहरी बर्दीको बदनाम भइरहेको बेला तत्कालीन एसएसपी हालका डीआईजी केसीको कदम प्रहरी इतिहासमा सम्झनलायक घटना हो ।

यसले प्रहरीको गिर्दो साखमा ज्यान भरेको छ ।

अनुसन्धानमा तानिँदै आरजुदेखि सिटौलासम्म

यो प्रकरणमा बिचौलिया बेचन झा एक वर्षपछि पक्राउ परेका छन् । राजनीतिक नेताहरूसँग निकट रहेका उनी पक्राउ परेसँगै यसमा संलग्न थप राजनीतिक व्यक्तिहरूसमेत तानिने अवस्था रहेको उच्च प्रहरी अधिकृतहरु बताउँछन् ।

कागजपत्रलाई प्राप्त जानकारी अनुसार यो प्रकरणमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र आरजु राणा अनुसन्धानमा तानिने सम्भावना छ ।

बेचनले सिटौलासँग नक्कली भुटानी प्रकरणबारे गरेको सम्वाद र आर्थिक लेनदेनको प्रमाण प्रहरीले फेला पारेको स्रोतको दाबी छ ।

बेचनको कनेक्सन देखिएपछि उनीहरुमाथि अनुसन्धान गर्ने प्रहरी तयारी छ । झाले यो प्रकरणमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका थिए ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग बेचनमार्फत भेट भएको खुलेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो बेचनबारे बोलेका छन् ।

पीडितहरूसँग पैसा उठाउने गिरोहले गृह मन्त्रालयमा समन्वय गर्नका लागि झालाई दुई करोड दिएको खुलेको छ ।

पीडितहरु पहिलोपटक १९ जेठ ०७९ मा प्रहरीमा पुगेका थिए । तर गतवर्ष मात्रै तत्कालीन एसएसपी केसीले सो फाइल खोलेका थिए ।

यो प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मा पुर्पक्षका लागि कारागारमा छन् ।

बेचन र प्रतिक पक्राउ परेसंगै उनीहरुमार्फत नयाँ तथ्य खुल्ने सम्भावना छ । अब २० प्रतिवादीमध्ये नौजना फरार छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहका इन्द्रजित राईका छोरा नीरजसहित अशोककुमार पोखरेल, निरञ्जनकुमार खरेल, धीरेन राई, दीपा हुमागाईं, मोहनराज राई, विनिता सामदेन लिम्बू, सुनील बुढाथोकी, राजेश अर्याल फरार छन् ।

बानेश्वरमा घर भएका बेचन ठूला ठेक्कापट्टामा संलग्न रहँदै आएका थिए । भारतीय नागरिक रहेका उनले पर्साबाट नेपाली नागरिकता लिएको पाइएको छ ।

कांग्रेस नेताहरूको संरक्षणमा उनी ठेक्कापट्टा र बिचौलियाको धन्दामा लागेको पाइएको छ ।

प्रतिक्रिया