बैतडीकी शिक्षिकाद्वारा हत्या गरिएका पुरूषकाे शव भेटियो


बैतडी– बैतडीमा हत्या गरेर बेपत्ता पारिएको भनिएका पुरुषको शव फेला परेको छ । पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभान सिंह बिष्ट शव पाटन–पञ्चेश्वर सडकको घानल खोलामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । अहिले शवको मुचुल्का उठाउने कार्य चलिरहेको उनले बताए ।

विष्टको हत्याको आरोपमा ३६ वर्षीया भागरथी विष्ट पक्राउ परिसकेकी छिन् । शिक्षक रहेकी उनले हत्यापछि शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको प्रहरीसमक्ष बयान दिएकी थिइन् ।

भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत रहेकी छन् । एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको छ ।

विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा नरहेको आफन्तले बताएका छन् । स्थानीयका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन् । हत्यापछि आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाबढी आफ्नै घरभित्र शव लुकाएकी थिइन् ।

उनले गएराति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ ।

तर, सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो ।

हत्याको कारण अझै खुलिसकेको छैन । तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ ।

स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् ।

यो पनि:

बैतडीमा पुरुषको हत्या आरोपमा शिक्षिका पक्राउ, भेटिएन शव
बैतडीकी शिक्षिका : जसले विरभानको हत्यापछि २४ घण्टासम्म आफ्नै घरमा लुकाइन् शव

बैतडीमा शिक्षिकाद्वारा हत्या गरेको स्विकार, शव खोज्न कुकुर परिचालन गर्ने तयारी

प्रतिक्रिया