प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालयको भवन निर्माण गर्दा अनियमितता गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

उनीहरूले रामजानकी दलित आधारभूत विद्यालयको भवन निर्माण गर्दा १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शोभा कुमारी यादव, योजना शाखाका प्रमुख रमेशकुमार निधि, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सव-इन्जिनियर सन्तोषकुमार यादव, जिन्सी प्रमुख सञ्जय प्रसाद यादव, उपभोक्त समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल, सचिव रामभरोस मुखिया मलाह छन् ।

यस्तै, नवराजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन वडाध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाध्यक्ष खुसिलाल साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।दायर गरिएको मुद्दामा सबै जनासँग १४ लाख ५१ हजार ५५१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया