त्रिभुवन विमानस्थलबाट सुनसहित ४ जना पक्राउ


काठमाडौं- सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कतार एयर उडानद्वारा नेपाल आएका सरोजले भन्सार छली ल्याएको सुन मोहम्मद इन्तेयाजलाई सुनको सिक्री र काँचो सुन करिब ६९ ग्राम ९९ मिलिग्राम सुन दिइरहेका बेला नियन्त्रणमा लिइएको हो ।

त्यस्तै विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट ५० ग्राम बराबरको सुनको सिक्रीसहित मोहम्मद र ज्याउदिनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको उक्त सुन मोहम्मदलाइ दिने क्रममा पक्राउ परेका हुन् ।

शनिबार नियन्त्रणमा लिइएका चारै जनालाई बरामद सुनसहित भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिए ।

प्रतिक्रिया