अपडेट : दक्षिणकालीमा २ सय मिटर तल भीरमा अड्किएको थियो महिला पुरुषको शव

मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक निस्कर्ष


काठमाडौं -काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मृत अवस्थामा फेला परेका दुईजनाको पहिचान खुलेको छ । उनीहरु दुवै भक्तपुरमा बस्दै आएको खुलेको छ । प्रहरीले प्रारम्भीक रुपमा दुर्घटना भएको निस्कर्ष निकालेको छ ।

मृत भेटिनेमा धादिङ सिद्धलेख गाउँपालिका–५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चागुनारायण नगरपालिका–५ की ३२ वर्षीया सरिता राई छन् । उनीहरु मृत भेटिएकोे स्थानमा मोटरसाइकल समेत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । एसपी अधिकारीका अनुसार उनीहरुको शव सडकबाट २ सय मिटर तल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई शव देखेपछि खबर गरेका थिए ।

मृतकको पहिचान खुलेपनि उनीहरु आफन्त हुन वा अरु कोही भन्ने नखुलेको प्रहरीले जनाएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली मगाएर शव निकालिएको छ ।

प्रतिक्रिया