भैसी किनेको पैसा नदिँदा ज्वाईको हत्या, ४१ वर्षपछि ससुरा पक्राउ


कञ्चनपुर – ४१ वर्षअघि ज्वाईको हत्या गर्ने ससुरालाई कञ्चनपुर प्रहरीले पक्रन सफल भएको छ। २०३६ फागुन ८ गतेदेखि फरार कञ्चनपुरको साबिक परासन गाविस–१ बुद्दबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) पक्राउ परेका हुन्।

तामाङलाई २०४६ चैत २ गते तत्कालीन सुदुरपश्चिमाञ्चल क्षेत्रिय अदालतले १० वर्ष कैद सजाय सुनाएको थियो। ज्वाईको हत्या गरी फरार तामाङलाई लुकिछिपी आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको कञ्चनपुरका डिएसपी अमर थापाले बताए। जतिबेला तामाङले उधारोमा १५ सय रुपैयाँमा आफ्ना ज्वाई नाम्जा तामाङको भैसी किनेका थिए। उक्त पैसा नतिरेको विषयमा झैझगडा हुँदा ज्वाईको हत्या गरेका थिए।

पक्राउ परेका तामाङले २०२१ सालमा आफ्नो पहिचान लुकाई भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई २०२८ सालमा बिरामी अवकाश भई पेन्सन बुझ्ने गरेको समेत खुलेको डिएसपी थापाले बताए। उनीहरु घरनजिकैको भएपनि नाताले ज्वाई–ससुरा पर्थे।

तामाङलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कञ्चनपुर पेश गरिएको र पेन्सन लिने गरेको कुरामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया