‘बाँच्नुपर्ने जीवन बाँचिसके’भन्दै हराएकी गायिका जेरुसा राई दुई वर्षदेखि भेटिइनन्


काठमाडौं –  कभर गित गाएर चर्चामा आएकी गायिका जेरुसा राईको अवस्था दुई वर्षदेखि अज्ञात छ । ०७९ असोज ६ गतेबाट जेरुसा बेपत्ता भएकी थिइन ।

ललितपुरबाट बेपत्ता भएकी उनले घरमा मोवाइल छाडेर जाँदा ‘सुसाइड नोट’ समेत फेला परेको थियो । तत्कालीन समयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार जेरुसा हराएकै दिनबाट उनको खोजी गरिएको थियो ।

उनी घरबाट हिडेको दिन राति आठ बजेको समयमा कीर्तिपुरस्थित सुन्दरीघाट क्षेत्रमा ललितपुर र काठमाडौं जोड्ने बागमती खोलाको झोलुङ्गे पुलमा देखिएकी थिइन् । तर त्यसपछि उनी कहाँ गइन भन्ने खुल्न सकेको छैन् ।
सो समयमा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । तर कुकुरले पनि अनुसन्धानमा कुनै संकेत दिन नसकेको अनुसन्धानमा खटिएका प्रहरीहरु बताउँछन् ।

जेरुसाका बुबाआमा डिभोर्स भएर बेग्लाबेग्लै बस्दै आएका थिए । बुबासंगै बेलायतमा बस्दै आएकी जेरुसा पछि अमेरिका गएकी थिइन । अमेरिकामै उनले नेपाली युवकसंग विवाह गरेको भएपछि सम्बन्ध राम्रो नभएपछि डिभोर्स गरेकी थिइन ।
डिभोर्सपछि उनी नेपाल आएकी थिइन । उनी नेपाल आएको डेढ महिनामात्रै भएको थियो । ललितपुरमा उनकी आमा बस्दै आएकी थिइन । सोही क्रममा उनी असोज ६ गते घरमा सुसाइड नोटमा आफूले ‘बाँच्नुपर्ने जीवन बाँचिसके’ लेखेर बेपत्ता भएकी थिइन ।
घरमा भेटिएको नोटका आधारमा प्रहरीले जेरुसाले आत्महत्या गरेको हुनसक्ने आशंका गर्दै आएको छ ।

श्रीमानसंग डिभोर्सपछि जेरुसा मानसिक समस्यामा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको अवस्था अज्ञात रहेकाले प्रहरीले खोजी कार्य भने जारी राखेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाल बताउँछन् ।

प्रतिक्रिया