सन्दिप ‘भिसा’ प्रकरणः राजा त्रिभुवनलाई समेत किन दिएको थिएन अमेरिकाले भिसा ?


काठमाडौं– यहि जेठ १९ गतेदेखि अमेरिका र वेस्ट इन्डिजमा आइसिसी टी–२० विश्वकप हुन गइरहेको छ । त्यसका लागि नेपालबाट १६ खेलाडीसहित २३ सदस्यीय टोली गत बैशाख २४ गते नै अमेरिका गइसकेको छ ।

तर, उक्त टोलीमा लेग स्पिनर सन्दिप लामिछाने समावेश भएनन् । कारण थियो बलात्कार मुद्धामा मुछिएकाले नेपाल क्रिकेट सङ्घ (क्यान)ले उनीलाई गरेको निलम्बन र उच्च अदालतबाट उनको मुद्दामा सुनुवाइ नहुनु ।

२०७९ भदौ २१ गते एक युवतीले दिएको उजुरीको आधारमा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले उनीलाई बलात्कार मुद्धामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय तथा जरिवाना सुनाएको थियो । त्यसकै विरुद्धमा लामिछाने पाटन उच्च अदालत पाटन गएका थिए ।

तर, उच्च अदालतले ‘क्लिनचिट’ दिँदासमेत सन्दिप विश्वकप खेल्न अमेरिका जान पाएनन् । गत जेठ ९ गते अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । लामिछानेको पुरानो भिसा २०२५ सम्मको भए पनि अमेरिकाले यसअघि रद्द गरिसकेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

क्यानले निलम्बन फुकुवा गर्दै अदालतले सफाई दिनुका साथै आइसिसीले समेत निलम्बन फुकुवा गरेको अवस्थामा अमेरिकाले उनलाई किन भिसा दिएन ? त्यसको कारण भने खुलाइएको छैन ।

उनलाई भिसा दिलाउन सरकारको उच्च तहबाटै पहल भइरहेको भनिएको छ । विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले अमेरिकन दूतावासलाई नोट नै लेखेको थियो । साथै सन्दिप लामिछानेलाई भिसा दिइनुपर्ने भन्दै उनका समर्थक दैनिक प्रदर्शन गरिरहेका छन् ।

समर्थकहरु हिजो(बुधबार) क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका थिए । यद्यपि त्यहाँ प्रदर्शन गर्न नपाएपछि युवाहरुले बालुवाटारमै धर्नामा दिएका थिए ।

लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । तर दूतावासले त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो । यसपटक भने विभिन्न प्रयास हुँदा पनि अमेरिका उनलाई भिसा नदिने पक्षमा छ ।

अमेरिकाले बलात्कारका साथै विभिन्न मुद्धाका आरोपित तथा दोषीहरुलाई त्यति पक्षपोषण नगरेका इतिहास छन् । १९९२ मा अमेरिकालाई विश्वमा चिनाउने बक्सिङ खेलाडी माइक टाइसनले बलात्कारको आरोपमा जेल सजाय पाएको थिए । उनीलाई १० वर्षको जेल र ४ वर्ष खेलमा निलम्बनको सजाय दिइएको थियो । यस्त विश्वप्रसिद्ध गल्फर टाइगर उडले खेलबाट निलम्बित भएर अदालतको चक्कर काट्नु परेको थियो ।

यस्तै एउटा इतिहास नेपालसँग पनि जोडिएको छ । नेपालको शाहवंशीय राजतन्त्रको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेपालका राजा रहेका तत्कालीन महाराजाधिराज त्रिभुवन विर विक्रम शाह समुद्र पार गरेर युरोपको यात्रा गर्ने नेपालका प्रथम राजा हुन् । उनी आफ्नो उपचारका लागि पहिलोपटक १९५३ को २३ अक्टोबरमा इटाली पुगेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि भारतमा उपचार गराइरहेका उनीलाई मुटुमा समस्या देखिन थालेपछि डाक्टरहरूले युरोप जान सुझाव दिए । सोही सुझाव अनुसार उनले इटालीको नेपोल्सस्थित इन्टरनेसनल हस्पिटलमा करिब एक साता उपचार गराएका थिए । पानी जहाजको माध्यमबाट गएकाले उनीलाई बाटोमै हृदयाघात भएको थियो ।

त्यहाँबाट डिस्चार्जपछि राजा त्रिभुवनले युरोपका फ्रान्स, इटाली र स्विट्जरल्यान्ड गरी तीनवटा मुलुकको भ्रमण गरि फर्किएका थिए । तर सन् १९५४ को जुन पहिलो साता राजालाई फेरि हृदयाघात भयो । त्यसपछि उनी उपचारका लागि भारत हुँदै स्विट्जरल्यान्डको जुरिच गएका थिए ।

उनी दुवै बडामहारानीहरू क्रमसः कान्ति राज्यलक्ष्मी देवी र ईश्वरी राज्यलक्ष्मी देवी, कान्छा छोरा वसुन्धरा, सैनिक सचिवयोगविक्रम राणालगायतका अन्य सहयोगीहरूका साथ त्यहाँ पुगेका थिए ।

भारतको मुम्बईबाट, कायरो र त्यहाँबाट इटालीको रोम हुँदै ६ नोभेम्बरमा हवाईयात्रा गरेर राजा त्रिभुवन स्विट्जरल्यान्डको जुरिच पुगेका थिए । राजा जुरिचबाट थप उपचारका लागि अमेरिका जान चाहेको कुरा त्योबेलाका अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले छापेका थिए ।

तर, दुईवटी पत्नी भएका कारण राजालाई अमेरिकाले भिसा नदिएको भन्दै ४ नोभेम्बर १९५४ को न्यूयोर्क टाइम्सले समाचार छापेको थियो । विकसित मुलुकहरूले बालविवाह र बहुविवाहलाई बन्देज लगाएकाले अमेरिकाले अध्यागमन र राष्ट्रियता सम्बन्धी कानूनको खण्ड २१२, जारी गरेको थियो । जसमा ‘एकसाथ दुई पत्नी वा पति भएका व्यक्ति’ लाई भिसा नदिने व्यवस्था थियो ।

त्यहाँको कानूनका कारण भिसा पाउन कठिनाइ भएपछि अमेरिकी अधिकारीहरू नेपालका राजालाई अमेरिकामा स्वागत गर्नका लागि अन्य उपायबारे छलफलमा रहेको समाचार पनि प्रकाशित भएको थियो ।
३० नोभेम्बर भने एक पत्नी भएको व्यक्तिलाई मात्र प्रवेशाज्ञा दिने अमेरिकी कानूनका कारण राजा त्रिभुवनको अमेरिका भ्रमण स्थगित भएको न्यूयोर्क टाइम्समा समाचार पनि प्रकाशित भएको थियो ।

३० नोभेम्बरमै एक पत्नी भएको व्यक्तिलाई मात्र भिसा दिने अमेरिकी कानुनका कारण राजा त्रिभुवनको अमेरिका भ्रमण हाललाई स्थगित गरेको तर सबै व्यवस्था मिलेमा छिट्टै हुन सक्ने भनेर इभिङ स्टारले लेखेको थियो । उक्त समाचारमा राजाका सैनिक सचिव लेफ्टिनेन्ट जनरल योगविक्रम राणाको प्रतिक्रिया पनि समावेश गरिएको थियो । जसमा राजा कहिल्यै विधुर र निःसन्तान हुन नपरोस् भनेर दुईवटी रानीसँग एकसाथ विवाह गरेको राणाले बताएका थिए ।

अन्ततः उपचारका लागि स्विट्जरल्याण्को जुरिच पुगेका राजा त्रिभुवनको १३ मार्च १९५५ मा ४९ वर्षको उमेरमा त्यहिँ निधन भएको थियो ।

प्रतिक्रिया