प्रहरी नै सन्तृष्ट छैनन् गृहमन्त्रीको निर्णयबाट

पूर्व डीआईजी मल्ल भन्छन्– लामिछानेको निर्णय ‘लहडी’


काठमाडौं –गृहमन्त्री रवि लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेलाई नै सडकमा खटाउने घोषणालाई प्रहरी अधिकारीहरुले आश्चर्यको रुपमा लिएका छन् ।

ऐन नियममै उल्लेख नभएको विषयलाई सामाजिक सञ्जालमार्फत घोषणा गरेर गृहमन्त्रीले अनाहकमा नागरिकलाई दुःख दिन खोजेको टिप्पणी प्रहरीकै अधिकारीहरु गर्न थालेका छन् । राज्यले तोकेको कारवाही भोगिसकेपछि स्वयंसेवक बन्ने नबन्ने विषय नागरिकको अधिकार भएको उनीहरुको बुझाई छ । यद्यपी वहालवाला प्रहरी अधिकारीहरु यसबारे बोल्न मान्दैनन् ।

गृहमन्त्री लामिछानेले मंगलबार महिला ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युउटी गर्नुपर्ने र मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेले स्वयंसेवकका रूपमा सडकमा सघाउनुपर्ने घोषणा गरेका थिए ।

उनले गरेको घोषणा काठमाडौं उपत्यका ट्राफिक कार्यालयले सिंहदरबार क्षेत्र,सातदोबाटो,माइतीघर लगायतका स्थानमा ट्राफिक नियम उल्लंघन गर्नेलाई बुधबार (आज) बाट स्वयंसेवकका रुपमा खटाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी जीवन कुमार श्रेष्ठले ट्राफिक सचेतना कक्षामा बसेकाहरुलाई एकजना ट्राफिक प्रहरीको साथमा स्वयंसेवकको रुपमा खटाइएको बताए ।

जरिवाना तिरेर सचेतना कक्षा लिइसकेपछि स्वयंसेवक बन्न अस्वीकार गर्र्यो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा एसएसपी श्रेष्ठले भने,‘अहिले त्यतापट्टी नसोचौं न ।’

तर राज्यले ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट जरिवाना र अन्य कारवाही गर्दै आएको छ । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल जरिवाना लिइसकेपछि स्वयंसेवकका रुपमा जवरजस्ती खटाउने विषय गलत भएको टिप्पणी गर्छन् ।

उनले भने,‘यो गृहमन्त्री लहडी निर्णय भयो । सुरक्षासंग जोडिएको कुरा सामाजिक सञ्जालमा लेख्नु नै राम्रो भएन । यो हल्का पारा भयो । हरेक कुराको चरण हुन्छ । रमाइलोका लागि जे पनि गर्न मिल्दैन ।’

प्रतिक्रिया