एसएसपी बढुवाका लागि हेडक्वार्टरको तयारी, विवादास्पद एसपी थापाको अस्वाभाविक दौडधूप 


काठमाडौं — अघिल्लो साता नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा सिफारिस भएसँगै रिक्त भएको एसएसपी पदमा बढुवाको तयारी थालिएको छ। रिक्त पदपूर्तिको लागि प्रहरी प्रधान कार्यालयले तयारी थालेको हो।

रिक्त रहेको डिआईजीमा एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा।मनोज केसी र राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै नेपाल प्रहरीमा चार एसएसपी दरबन्दी रिक्त भएको छ।

प्रधान कार्यालयले सोही रिक्त एसएसपीको दरबन्दीमा बढुवाका लागि तयारी थालिएको हो। बढुवाको गृहकार्य थालेसँगै केही एसएसपीहरुले बढुवाका विचौलियामार्फत भनसुन र दौडधुप सुरु गरेका छन्।

चार पदका लागि राष्ट्रिय अनुसन्धानबाट आएका दुई र २०५६ मा इन्सपेक्टरमा भर्ना भएका ७ जना गरी ९ जना एसएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ।

स्रोतका अनुसार अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएका छन्। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन्।

२०७७ मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहतका कार्यालयहरुबाट रकम असुलेको आरोपमा उनी निलम्बनमा परे बस्नेत यसअघिको बढुवामा छुटेका थिए।

त्यस्तै एसएसपीको दौडधूपमा २०५५ मा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा आएका श्यामकृष्ण अधिकारी पनि बढुवाका लागि दौडधूपमा लागेका छन् ।

बाँके एसपी रहेका बेला माजोङ मिनी क्यासिनोका एजेन्टससँग मदिरा र मोबाइल उपहार लिएको भन्दै विवादमा परेका थिए ।

यी बाहेक २०५६ मा इन्सपेक्टरमा भर्ना भएको टोली र २०५८ मा इन्सपेक्टरमा भर्ना भएको टोलीबीच एसएसपी बढुवा प्रतिस्पर्धा हुने देखिएको छ।

एसएसपी बढुवाको दाबेदारमा एसपी हिराबहादुर पाण्डे पनि छन्। त्यस्तै नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, विनोद सिलवाल र भीमबहादुर दाहाल पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन्। उनीहरु सबै २०५६ मा इन्सपेक्टरमा भर्ना भएकाहरु हुन्।

तर, उनीहरुसँगै २६ माघ २०७५ मा एसपी भएका २०५८ का टोलीका केही एसपीहरुले पनि बढुवाका लागि चलखेल सुरु गरेका छन् । अघिल्लो ब्याचसँगै बढुवा भएको हुनाले आफूहरु पनि एसएसपीको दाबेदार रहेको भन्दै २०५८ टोली पनि बढुवाको लबिङमा लागेको जनाइएको छ ।

२०५८ टोलीबाट रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढा मगरलगायत एसपीहरु पनि बढुवाको प्रतिस्पर्धामा छन्।

यसअघि डीआईजी बढुवामा २०५३ को राष्ट्रिय अनुसन्धानबाट आएको टोली र आइजीकै ब्याच छुटाएर बढुवा सिफारिस गरेका गृहमन्त्री रवि लामिछानेले अहिले भने के गर्छन् हेर्न बाँकी छ।

यस्तै घरदैलोमा गएर विचौलियामार्फत दबाब दिन लगाउनेलाई बढुवा नगर्ने बताएका लामिछानेले सो वचन पूरा गर्छन् कि गर्दैनन् भन्ने पनि यो बढुवाबाट स्पष्ट हुनेछ।

 

एसपी थापाको अस्वाभाविक दाैडधूप

२०५६ कै ७ एसपी बढुवाको दौडमा रहँदा २०५८ का एसपी कमल थापाले भने बढुवाका लागि अस्वाभाविक दौडधूप गरेको स्रोतले जनाएको छ  । हाल अख्तियारमा दरबन्दी रही कार्यरत रहेका एसपी थापा यसअघि सुदूरपश्चिमको कञ्चनपुर बस्दा उनी निकै विवादित थिए।

तस्करसँगको घुमुवामार्फत सेटिङ, आर्थिक अनुशासन कायम नराखेको, मुद्दा शाखामा विवादित कर्मचारी राखेको लगायतका विषयमा विवादित बनेका थिए। त्यसपछि उनीविरुद्ध छानबिन पनि भएको थियो।

२०७७ कर्तिकमा सुनसरी प्रहरी प्रमुख हुँदा एसपी थापामाथि आर्थिक लेनदेन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमामा उजुरीसमेत परेको थियो।

सुनसरीमा उनले आफू तत्कालिन आईजीपी शैलेश थापाको विश्वासपात्र भएको भन्दै मातहतका केही घुमुवा र केही चौकीका इञ्चार्जमार्फत रकम असुली गर्ने गरेको आरोप समेत लागेको थियो ।

त्यस अगाडि डीएसपी हुँदा पूर्वीपहाडी जिल्ला संखुवासभामा उनले करोडौं कमाएको प्रहरी अधिकारीहरू नै बताउँछन्। २०७७ पुसमा सीमा क्षेत्रमा हुने तस्करी र लागूऔषध कारोबारमा संलग्नसँग पैसा उठाएर थापालाई बुझाउने घुमुवाहरू कारवाहीमा परेका थिए।

आर्थिक लेनदेन गरेको आरोप खेपेका एसपी थापाका घुमुवा प्रहरी र केही चौकीका इञ्चार्जलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले कारवाही गर्दै तानेको थियो।

सुनसरीमै भारतीय प्रहरीले ३० जेठ २०७८ मा तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए।

छानविनमा तत्कालिन सुनसरीका एसपी कमल थापा र सशस्त्र प्रहरीका तत्कालिन एसपी माधव पौडेलको समेत संलग्नता रहेको खुलेको थियो। तर, उनीहरु दुवैले उन्मुक्ति पाएका थिए ।

त्यो समयमा एसपी थापाको रवैयाविरुद्ध नेपाली काँग्रेस सुनसरीले आपत्ती जनाउँदै सिडिओको ध्यानाकर्षण गराए पनि एमाले नेताको पनि साथले कारबाही भने नभएको बताइन्छ ।

उनै एमाले निकट विवादास्पद एसपी थापा अहिले एमाले सरकारमा प्रभावशाली अवस्थामा रहेको बेला एसएसपी बढुवाका लागि राजनैतिक घरदैलो अभियान नै थालेको स्रोतले जनाएको छ । बढुवाका लागि झापाका एक नेतामार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हारगुहार गरेको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया