विकल पौडेल विरुद्ध अर्को भ्रष्टाचार मुद्दा


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

रेग्मीका अनुसार आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको थियो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड १७ लाख १८ हजार ६८४ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको रेग्मीले बताए ।

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया