

थारु आयोगले थाल्यो थारु समुदायको थर सूचिकरण, राज्यलाई सहज

काठमाडौँ – अब राज्यलाई थारु जातीको पहिचान गर्न सहज हुने भएको छ । थारु आयोगले तराइका आदिवासी थारु समुदायको थर सूचिकरणको ‘पहिलो ड्राफ्ट’ सार्वजनिक गरेसँगै राज्यलाई थारुको पहिचान गर्न सहज हुने भएको हो ।
आयोगले थारु समाजका अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेर थारुको थर तथा उपथरहरुको ड्राफ्ट सार्वजनिक गरेको छ ।
आयोगले त्रिभूवन विश्व विद्यालयको मानवशास्त्र विभागले थारु समुदायका अनुसन्धानकर्ताहरुसँगको सहकार्यमा २०७७ अशोजदेखि फागुनसम्म ६ महिना लगाएर अनुसन्धानको काम गरेको थियो।
यस्तै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायभित्र रहेका थर पहिचानले राज्यलाई थारुको पहिचान गराउन सजिलो हुने बताए। उनले थर सूचीकरणले थारुको पहिचान गर्न सजिलो हुनुका साथै जनगणनामा पनि सजिलो हुने बताए ।
आयोगका सचिव कृष्णकान्त उपाध्यायले आयोगले आफ्नो बजेट अनुकुलतामा थारु समुदायको अधिकार तथा सांस्कृतिक संरक्षणमा भूमिका निर्वाह गरिरहेको बताए। थारु थर सूचीकरणको कामले समुदायलाई लाभ पुग्ने विश्वास उनले व्यक्त गरे।

