

खाजा घरको आडमा यौन व्यवसाय, दार्चुलाका बडु र सर्लाहीकी कान्छीमाया पक्राउ

काठमाडौं- नाबालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । टोखामा सुर्खेत खाजाघर सञ्चालन गर्दै आएका दार्चुला घर भई काठमाडौंको टोखा नगरपालिका-९ दिपज्योती मार्गमा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाही घर भई सोही ठाउँमा बस्ने ३७ वर्षीया कान्छीमाया घिसिङ पक्राउ परेका हुन् ।
उनीहरूले वेटरको काम लगाउने भन्दै नाबालिकाहरूलाई सुरूमा जागिर दिने र पछि विभिन्न किसिमको डर र प्रलोभन देखाएर यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
यौन व्यवसायमा लगाएको भन्ने सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली मंगलबार उक्त ठाउँमा पुगेको थियो । प्रहरीले त्यहाँबाट एक जना नाबालिका उद्धारसमेत गरेकाे छ ।
पीडितको जाहेरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ ।

