आफ्ना माग अघि सार्दै डा. केसीले गरे पून: अनसनको घोषणा


काठमाडौं – चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता डा गोविन्द केसी पून अनसन बस्ने घोषणा गरेका छन् । डा. केसीले अवैध रूपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धनको प्रक्रिया तत्काल नरोके अनसन बस्ने घोषणा गरेका हुन्।

एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम अवैध भएको भन्दै डाक्टर केसीले सो कदम नरोके आफू फेरि अनसन बस्ने चेतावनी दिएका हुन्।

‘चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो’, बिहीबार उनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ,‘प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ।’

कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उनको जिकिर छ।

प्रतिक्रिया