

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका-८ घर भई काठमाडौँ कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका-३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङ्घर्ष राई रहेका छन् ।
पवनले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रुपैयाँ ठगी गरेको, नमराजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको र सङ्घर्षले युरोपका देशहरू पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
प्रहरीले पवनलाई काठमाडौँ सम्भूमार्गबाट, नमराजलाई काठमाडौँ नयाँ बानेश्वरबाट र सङ्घर्षलाई काठमाडौँ बालाजुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

