

सरकार समीकरण वार्ता चलिरहेका बेला गौर हत्याकाण्ड पीडित संघर्षमा उत्रिनुको राजनीतिक अर्थ

काठमाडौं– प्रतिनिधि सभामा रहेका दलबीच सरकार समीकरणका वार्ता चलिरहेका छन्। जनता समाजवादी पार्टी पनि यस मध्येको एउटा निर्णायक शक्ति रहेकाले अध्यक्ष उपेन्द्र यादवको निर्णय केन्द्रविन्दुमा छ।
यादव प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी नेकपा एमालेलाई समर्थन गर्ने मुडमा छैनन्। उनले भनिदिए,‘प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारीसँग सहकार्य हुँदैन।’
अर्थात् नेकपा माओवादी केन्द्रले खोजीरहेको कांग्रेससहितको समीकरणमा सरकार बनाउने रणनीतिलाई स्वीकार गर्ने यादवको घोषणा छ। तर, यादवको पार्टीले मात्रै समर्थन गरेको खण्डमा ओली सरकार अर्को दुई बर्ष राम्रोसँग टिक्ने अवस्थामा छ।
नयाँ समीकरणमा नेपाली कांग्रेस निर्णायक हो। तर उसले प्रतिनिधि सभामा नयाँ सरकार बनाउने कि मध्यावधि चुनावको अवस्थामा जाने भन्नेबारे आधिकारिक निर्णय गरेको छैन।
तर यादवको पार्टीको निर्णयले भने राजनीति तत्कालका लागि ओलीका पक्षमा जान सक्ने स्वभाविक अंकगणित छ। तर यादव त्यसका लागि तयार होलान्?
उता सरकार समीकरणको राजनीतिक दाउपेच चलिरहेका बेला मधेस आन्दोलनका क्रममा भएको गौर नरसंहार प्रकरणका पीडित संघर्षमा उत्रिएका छन्। यसैबेला न्याय माग्दै प्रधानमन्त्री ओलीसमक्ष २९ जना विधुवाले उजुरीसहितको ज्ञापनपत्र दिँदै स्मरण गराएका छन्।
दोषीलाई कारबाही माग गरेका पीडितले यति मात्र नभएर न्याय नपाए भद्रकालीमा अनशन बस्ने, आन्दोलन गर्ने चेतावनी पनि दिइसकेका छन्।
१४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्ड घटनाको पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेको हो। पत्रकार सम्मेलनमा परिवारले भनेको थियो,‘दोषीलाई कारबाही नभए भद्रकालीमा अनशन बस्नेछौं।’
गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीकोे माग गरे। घटनामा सहिद भएकालाई सहिद घोेषणा गर्न र घाइते भएकाहरुको उचित उपचार गर्न सरकारसँग उनीहरुको माग थियो। पीडित मनोजकुमार यादव राजनले घाइतेहरुको उपचार राज्यबाट हुनुपर्ने बताएका थिए।
के भएको थियो?
७ चैत ०६३ मा यो नरसंहार भएको थियो। पत्रकारहरूको एउटा अध्ययन टोलीले स्थलगत अध्ययनपछि जारी गरेको प्रतिवेदनले यसका मुख्य दोषी तत्कालिन मधेसी जनाधिकार फोरमका अध्यक्ष तथा हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितलाई ठहर गरेको थियो।
रौतहतका तत्कालिन जिल्ला प्रहरी प्रमुख (एसपी) रामकुमार खनाल, पीडित पक्षसँग समेत व्यापक सोधपुछपछि प्राप्त तथ्यहरुका आधारमा विवरण तयार पारिएको थियो।
त्यसबेला यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम र नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबीच एकै स्थानमा कार्यक्रम गर्ने सिलसिलामा घटना सुरु भयो र नरसंहारको रुप लियो।
माओवादी निकट निषाद माझी मुक्ति मोर्चाको कार्यक्रमको सट्टामा मोर्चाले त्यस दिन कार्यक्रमको आयोजना गरेको र आन्तरिक रुपमा प्रचार समेत गरेको थियो। तर सोही कार्यक्रमसँग जुधाउँदै फोरमले पनि त्यही दिन कार्यक्रम गरेको स्थलगत अध्ययनले खुलाएको छ।
मोर्चा पक्षले फोरमका जिल्ला अध्यक्ष अमर यादवलाई कार्यक्रम सार्न अनुरोध गरेको तर नमानेपछि समय अघिपछि पारेर शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने सहमति भएको थियो। त्यहीअनुसार फोरम र मोर्चाको मञ्च करिब ६० मिटर दूरीको फरकमा बनेको पनि थियो। सहमतिअनुसार फोरमको कार्यक्रम सकिएपछि मोर्चाको कार्यक्रम गर्ने समझदारी अन्तर्गत मोर्चाको जुलुस बजार परिक्रमा गरिरहँदा बन्दूक, फट्टा, लाठी, चुपीसहितको फोरमको उत्तेजित जत्थाले अचानक मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्च तोडफोड गरेपछि स्थिति बिग्रिएको थियो।
मधेशी मुक्ति मोर्चाको जुलुस पुगेपछि फोरमको कभरमा भारतबाट झिकाइएका हतियारधारी गुण्डाहरुको जत्थाले मञ्चको दक्षिण–पश्चिमस्थित पहेंलो रंगको घरबाट अचानक पिस्टनबाट फायर गरेपछि र आफ्नो मञ्च भत्काइएको देखेपछि आक्रोशित बनेका मोर्चाका कार्यकर्ताहरुले फोरमको मञ्च तोडफोड गरेका थिए।
त्यहीबीचमा वरिपरिका अन्य घरहरु र सभास्थल नजिकका पानी ट्यांकीमा समेत लुकेका फोरमका कार्यकर्ता तथा भारतीय गुण्डाहरुले स्वचालित हतियार तथा एके ४७ बाट फायरिङ्ग गरेको कुरा माओवादी निकट वाइसीएलका गौर उपाध्यक्ष लक्ष्मणप्रसाद यादव (हिमाल)ले बताएका थिए।
त्यसपछि पानीटंयाकी, जिविस सभापतिको निवास र फोरमकै मञ्च अगाडिको घरबाट थ्रीनटथ्री, एसएमजी, पिष्टन, माउजर र ग्रिनेटहरु अन्धाधुन्दा प्रहार गरिएको रौतहटका भू्पू् जनसरकार प्रमुख विन्देश्वर यादवलाई उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ।
मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्चलाई केन्द्रीत गरी सी आकारमा घेराऊ गरी आक्रमण गर्न थालिएपछि चारैतिर भागदौड र कोकोहोलो मच्चिएको थियो।
पुरानो राइसमिल चौरस्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्च वरीपरी नै ५ जना कार्यकर्ताहरुको हत्या भयो। गोली लागी घाइते भएकाहरुलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम ढंगले प्रहार गरी हत्या गरिएको थियो।
उक्त घटनामा मारिएकी प्रतिमा खातुनलाई दर्जनौं फोरमका कार्यकर्ताहरुले बलात्कार गरी छट्पटाइरहेकी अवस्थामा आगो लगाई हत्या गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी अर्को निर्मम हत्या हजमनिया बोधिमाई मन्दिरमा भएको छ। गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको बोधिमाई मन्दिरमा र्पूव र्सलाहीतर्फ भाग्दै गरेका मधेसी राष्ट्रिय मुक्ति मोर्चा कार्यकर्ताहरुलाई फोरमका कार्यकर्ताहरु तथा भारतीय पेशेवर हत्याराहरुले बाग्मती नदीबाट कब्जा गरेर ल्याई ‘माओवादीलाई बलि दिनुपर्छ’ भन्दै सामूहिक रुपमा एघार जनाको नृशंस हत्या गरेका थिए।
उक्त घटनामा हत्या गरिएका रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई फोरमका कार्यकर्ताहरुले दर्जनौं पटक बलात्कार गरी गुप्ताङ्गमा बाँसका लाठी घोंचेर स्तन काटेर तड्पाई–तड्पाई जिउँदै आगो लगाएका थिए।
सेतै फुलेका करीब ७० वर्षीय प्रत्यक्षदर्शी एक वृद्धाले त्यस्तो घटना आफूले जिन्दगीमा नदेखेको बताएका छन्। आक्रोश र आतंकित भावमा ती वृद्धाले बलात्कृत महिलाहरुले ‘आफूहरुलाई बिहे गर तर नमार’ भनेर अनुनय विनय गर्दा पनि फोरमका ती बलात्कारीहरुले उनीहरुलाई छोड्नुको सट्टा जिउँदै आगोमा लगाएर मारेको बताए।
अरुहरुलाई फट्टा, इँटा, ढुंगाले निर्मम प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा रहेको गाउँलेहरुलाई खेदेर र घटनाबारे बताए मार्ने धम्कीसमेत दिइएको थियो।
त्यसैगरी अर्को घटना गौर बजारभित्रै रौतहट गेष्ट हाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका मोर्चाका कार्यकर्ताहरुलाई बाहिर थुती गोली हानेर भाला, खुकुरी, ढुङ्गा, इट्टाले कुटीकुटी मारेको कुरा घटनाबाट भाग्न सफल विन्देश्वर यादवले बताएको प्रतिवेदनमा उल्लेख छ।
उनका अनुसार घरका छतछतमा बसेका फोरमका कार्यकर्ता तथा र्समर्थकहरुले भागेर लुकेका मोर्चाका कार्यकर्ताहरु बसेको ठाउँ देखाएका थिए र एक–एक गरी निर्मम ढंगले हत्या गरिएका छन्। हत्याराहरु हात–हतियारसहित आफुहरुमाथि जाइलागिरहँदा प्रहरीले मुकदर्शक भएर हेरेको उनको दाबी छ।
अर्को घटना गौरबाट करिब एक किलोमिटरको दूरीमा रहेको लक्ष्मीपुर गाउँमा भएको थियो। त्यहाँ एक घरमा शरण लिएर बसेको रमाकान्त चौधरीलाई करिब १०–१५ जना फोरमका कार्यकर्ताले घरबाट निकालेर भाग्दै गर्दा लखेटी–लखेटी हत्यागरी बाँसको झाँङमा लगेर फालिदिएका थिए।
यसैगरी नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको शिर्शिया र मडलवाको चौरछेउ अन्य तीन जनालाई फट्टा, ढुंगा र इटा प्रहार गरी अशक्त घाइते बनाएर गहुँ बारीमा घिसारी–घिसारी मारेको निसान अहिले पनि देख्न सकिन्छ। टोली घटनास्थल पुग्दा हत्याको क्रममा मिचिएको गहुँमा रगतैरगतको टाटा र रक्तरंजित कपडा त्यहीँ थियो।
अर्को एक जना मोर्चाकार्यकर्तालाई राष्ट्रिय वाणिज्य बैंकको नजिकै हत्या गरी नालामा फालिएको नाम बताउन डराउने स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर, टाउको लगायत संवेदनशील स्थानहरुमा जथाभावी घोचेर, महिलाहरुलाई बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो।
घटनाको प्रकृति हेर्दा, मारिनेहरुको पक्ष एकतर्फी हुनु र स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइमा समेत उक्त घटना दोहोरो मुठभेड थिएन। मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु निःशस्त्र थिए। उनीहरुले प्रतिरोध गर्नै पाएनन्। त्यही कारण नै फोरमका सशस्त्र कार्यकर्ताहरुले ज्यान बचाउन भाग्दै गरेका निशस्त्र र आतंकित मोर्चा कार्यकर्ता तथा र्सवसाधरणहरुलाई गौरभन्दा सात आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेको पाइएको छ। त्यही क्रममा कतिपय मोर्चा कार्यकर्ताहरुले चाहिँ आफू फोरम कार्यकर्ता रहेको बताउँदै ज्यान जोगाउन सकेका थिए।
नरसंहारका मुख्य योजनाकार उपेन्द्र यादव र उसलाई नजिकबाट सहयोग गर्ने अपराधिक गिरोहहरु बबन सिंह, ललन सिंह, चन्द्रीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कँुवर, गणेशमान यादवलगायतका रहेको प्रतिवेदनमा उल्लेख छ।
चन्द्रीका सिंह, अजय गुप्ता, बलरामसिंह कुँवर योजनाका मुख्य नाइकेहरु भएको माओवादीहरुले बताएका थिए। अजय गुप्ता शाही सत्ताका मेयर हुन् भने बाबुलाल, गौरीशंकर भूपू मेयर, बलरामसिंह कुँवर भ्रष्ट भूतर्पूव न्यायाधीश र शम्भू साह खुंखार मानव तस्कर भएको बताइएको थियो।
रौतहटको सिर्सिया, हजमनिया, गौर, भारतको सितामणी, ब्रम्हपुरी, मोतिहारी क्षेत्रहरु भारतीयहरुको गढ मानिन्छ। रक्सीका भट्टीहरु चलाउने, गिरोहहरुलाई तालिम दिने, हातहतियार खरिद तथा सप्लाई गर्ने यिनीहरुको पेशानै भएको जनसमुदायहरुले बताएका थिए।
पञ्चायत कालमा खुंखार मण्डले, तस्कर जनयुद्धको शुरुवात पछि जनकारबाहीमा परी विस्तापित भएका र माओवादी प्रतिकार समिति समूहमा संलग्न हिजोआज मधेसी फोरम नामक आपराधिक गिरोहमा यी व्यक्तिहरु संलग्न रहँदै आएको बताइएको थियो।
राजनीतिक अर्थ
सो घटनापछि यादव राजनीतिक रुपमा शक्ति केन्द्रमा नै रहेका कारण अहिलेसम्म कारबाही हुन सकेको छैन। सत्ता समीकरण चलेका बेला यो विषय उठ्नुलाई यादवमाथि कारबाहीको प्रक्रिया चलाउन सकिने विश्वासमा पीडित परिवार रहेका छन्।
चुनावका बेला रौतहटमै भएको एउटा ठूलो हत्याकाण्डमा बाहलवाला कांग्रेस सांसद र पूर्वमन्त्री अफताब आलमलाई प्रधानमन्त्री ओली सरकारले नै जेल हालेपछि पीडित परिवार न्यायको माग गरिरहेको थियो। अहिलेसम्म समय नपाए पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा नै पीडितलाई समय दिनुलाई राजनीतिक अर्थमा बुझिएको छ।
‘पीडितले न्याय पाउनुपर्ने अहिले होइन, उहिले नै हो। तर राजनीतिक शक्ति केन्द्रमा रहेका बेला यादव र उनको संरक्षणका कारण अन्यले उन्मुक्ति पाइरहेका छन्’, उच्च स्रोतले भन्यो,‘यति बेला सत्ता समीकरणको वार्ता र छलफल चलिरहेका बेला यो प्रकरण जोडतोडका साथ उठेपछि राजनीतिक नाफा नोक्सानसँग पनि जोड्नु स्वभाविक जस्तो देखिन्छ।’

