


अन्यायपूर्ण तरिकाले कारबाहीको सिफारिस भएको भन्दै डिएसपी कुँवरले दिए गृहमा निवेदन

काठमाडौं — सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिसप्रति असहमत हुँदै कारबाहीका लागि सिफारिस गरिएका एक प्रहरी अधिकृतले गृहमन्त्रालयसँग न्याय मागेका छन् । प्रहरी नायब उपरिक्षक (डिएसपी) रुगम कुँवरले आयोगले आफूलाई अन्यायपूर्ण तरिकाले कारबाहीको सिफारिस गरेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका हुन् ।
कुँवरले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले आफूमाथि गलत तरिकाले कारबाहीको सिफारिस गरेको भन्दै निवेदन दिएका हुन् ।
कुँवरले आफूसँग नाम जोडिएका व्यक्तिको कल डिटेल्स निकालेर प्रमाण परिक्षण गर्नुपर्ने माग समेत गरेका छन् । पारिवारिक नातासम्बन्धको व्यक्ति भएता पनि उनको कार्यबारे आफू अनविज्ञ रहेको जनाउँदै डिएसपी कुँवरले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको निवेदनको बोधार्थ गृहसचिव र आईजीपीलाई पनि दिएका छन् ।
आफूले नलेखेको म्यासेज कुनै व्यक्तिले आयोग अध्यक्ष आचार्यलाई दिएको र सो आधारमा कारबाही सिफारिस भएको भन्दै कुँवरले सो म्यासेजको आधिकारिकता परीक्षण गर्न समेत माग गरेका छन् ।
६० किलो सुन प्रकरणमा अनुसन्धान गर्ने ४२ जनाको टिममा आफू नरहेको उल्लेख गर्दै कुँवरले भनेका छन्– ‘मैले अनुसन्धानलाई प्रभावित बनाएको भन्ने कुनै पनि तथ्ययुक्त प्रमाण रहेको छैन ।’ प्रहरी अतिरिक्त महानिरीक्षकले कमान्ड गर्ने सीआईबीमा डीएसपीले चाहेर मुद्दामा प्रभावित पार्न नसक्ने उल्लेख गर्दै कुँवरले भनेका छन्– ‘सुनको अनुसन्धान गर्ने टिमलाई सहयोग गरेको थिएँ तर, अन्यायपूर्ण कारबाही सिफारिसबाट मर्माहत भएको छु ।’
सुन तस्करी जाँचबुझ आयोगले चैत १ मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा सीआईबीकी तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीहरु दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको थियो ।
सो सिफारिसबारे कारबाही अगाडि बढाउनका लागि गृह मन्त्रालयले सहसचिव भरतमणि नेतृत्वको अर्को समिति समेत गठन गरेको छ ।

