पधेंरामा नुहाउन गएकी पद्माको हत्या अभियोगमा एक पक्राउ


बुटवल – पाल्पाको रिब्दीकोटस्थित पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् ।

रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी पद्‍मा सुनारको हत्या अभियोगमा प्रहरीले स्थानीय सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

१३ चैतमा देवलालले धारिलो हतियारको प्रयोग गरी पद्माको हत्या गरेको प्रहरीको भनाइ छ । देवलालले पद्मासँग भनाभन हुँदा आवेशमा आएर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रहरीले देवलालको घर र गोठबाट हत्यामा प्रयोग भएको हसिया, मोवाइललगायतका सामान बरामद गरेको छ । पद्माका बुवा दलबहादुर सुनारले उनीविरुद्ध दिएको किटानी जाहेरी शुक्रबार प्रहरीले दर्ता गरेको छ । पद्माको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

प्रतिक्रिया