ओस्कारमा ‘ओपेनहाइमर’ लाई ७ अवार्ड
काठमाडौं- लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गर्नुभएको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ ।
चलचित्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्नुभयो भने रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड हात पार्नुभयो । ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जितेको छ । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।
यस्तै चलचित्र ‘पुअर थिङ्स’ ले चार विधामा ओस्कार अवार्ड जितेको छ । चलचित्रकी अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । बेस्ट एक्ट्रेसबाहेक पुअर थिङ्सले बेस्ट कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र मेकअप तथा हेयर स्टाइलिङ विधामा पनि ओस्कार जितेको छ ।