अपराधको अर्को चरणमा ह्याम्सः अल्सरका सामान्य बिरामीलाई ओभरडोज औषधि दिएर लियो ज्यान

परिवारले बुझ्न नमानेको शव प्रहरीसँगको सेटिङमा जबरजस्ती पोस्टमार्टममा पठाइँदै


काठमाडौं– डन, माफिया र प्रहरी प्रशासनसँग सेटिङ गरी एकपछि अर्को अपराध गरिरहेको ह्याम्स अस्पतालले एक सामान्य बिरामीलाई मनपरी उपचार गरी ज्यान लिएको पीडित परिवारले बताएका छन्।

तेह्रथुमको म्याङलुङ–३ का ४५ बर्षिय देवेन्द्र निरौलालाई अकास्मात पेट दुखेपछि विहीबार ह्याम्स अस्पतालमा लगिएको थियो। अस्पतालले अल्सर भयो भनेर सोही दिन महँगो शुल्कमा बेड भर्ना गरायो।

शुक्रबार निरौलाले पेट दुखेको बताएपछि अस्पतालले उपचारका नाममा अनेकथरी सिरिन्च र स्लाइनको ओभरडोज दियो। शनिबार निरौलाको अस्पतालमा नै मृत्यु भयो। पीडित परिवारका अनुसार अस्पतालले मनपरी ढंगले औषधिको प्रयोग गर्दा साधारण बिरामीको मृत्यु भएको हो।

अस्पतालले मृत घोषणा गरी आफन्तलाई शव बुझ्न भन्यो। तर पीडित परिवारले अस्पतालले कसरी उपचार गरेको भन्नेबारेमा जानकारी नलिई शव नबुझ्ने अडान लिएका छन्।

अस्पताल प्रशासनले भने प्रहरीसँगको सेटिङमा आइतबार शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ। परिवारले शव बुझ्न नमान्दा नमान्दै जबरजस्ती पोस्टमार्टम गराउन खोजीएको आफन्तको आरोप छ।

मृतक निरौला

उपचार र स्वास्थ्य सेवाका नाममा ह्याम्स अस्पताल एकपछि अर्को विषयमा विवादमा तानिने गरेको छ। यसअघि पनि अस्पतालले कोरोना भाइरस (कोभिड–१९)को प्रमाणपत्र र सुरक्षा सामग्रीका नाममा किर्ते गरेका विभिन्न विवरण सार्वजनिक भएका थिए।

सरकारले छानबिन गरी चेतावनी दिए पनि ह्याम्स अस्पतालले स्वास्थ्य अपराधको कर्म नछाडेको प्रमाण फेला परेको थियो।

कोरोना भाइरस (कोभिड–१९)को उपचारका क्रममा स्वास्थ्य सामग्रीमा कालोबजारी गर्दै आएको अस्पतालले विदेश जाने यात्रुलाई नक्कली पिसीआर रिपोर्ट दिएपछि सरकारले छानबिन गरेको थियो। तर ह्याम्सले मोटो रकम लिएर फेरि नक्कली रिपोर्ट बेचेको प्रमाण फेला परेको थियो।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ बाट दुबई हिंडेका यात्रुका साथमा ह्याम्स अस्पतालले जारी गरेको नक्कली पिसीआर रिपोर्ट फेला पारेपछि ह्याम्सको अपराध कर्म जारी रहेको खुल्यो। बाराको बारागढी–५ घर भएका सुदीप चौधरीका साथबाट नक्कली पिसीआर रिपोर्ट फेला परेपछि अनुसन्धान गरे पनि सेटिङमा मिलाइएको बताइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ बाटै सात जनाबाट पाइएको नक्कली पिसीआर रिपोर्ट पनि ह्याम्ससहितले बेचेको खुलेको थियो। सल्यानका दिनेश सिंह, धुनषाका नारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङसँग नक्कली पिसीआर रिपोर्ट फेला परेको थियो जसलाई ह्याम्सलगायतले प्रमाणिकरण गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सेटिङ मिलाएर ह्याम्सले स्वास्थ्य अपराध जारी राखेको बताइएको छ। अहिले उपचारका नाममा बिरामीसँग मोटो रकम असुल्ने र गलत औषधिको प्रयोग गरी ज्यान लिने गरेको विवादमा ह्याम्स तानिएको हो।

प्रतिक्रिया