अस्करमा गएन आमा
काठमाडौं– एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसद्वारा सन् २०२१ मा घोषणा गरिने ९३औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड)मा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धी बन्नका निम्ति दुई नेपाली फिल्म ‘आमा’ र ‘टेल मि हु आइ एम–सरिता उमेर ११ वर्ष’ अयोग्य भएका छन् । अस्कर छनोट समितिबाट सहभागिताका लागि आह्वान गरिएकोमा समय सीमाभित्र निम्न दीपेन्द्र के खनाल निर्देशित ‘आमा’, र सर्जियो बासो निर्देशित ‘टेल मि हु आई एम– सरिता उमेर ११ वर्ष’ मात्र दर्ता भएका थिए ।
दुबै फिल्महरुको गत बिहीबारका दिन अवलोकन हुँदा अस्करले तोकिदिएको मापदण्डहरु पूरा नभएको ठहर गरी सर्वसम्मतिद्वारा यो वर्ष नेपालबाट कुनै पनि चलचित्र सहभागिताका लागि नपठाउने निर्णय गरिएको व्यहोरा समितिको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको समितिमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् ।