ताहाचलस्थित सिएमजी क्यासिनोमा प्रहरीद्वारा छापा, २३ लाख नगदसहित १० पक्राउ


काठमाडौं — प्रहरीले काठमाडौंको ताहाचलस्थित क्यासिनो सीएमजी क्लबमा छापा मारेको छ। अवैध रुपमा क्यासिनो खेल्ने र खेलाउने १० जना पक्राउ परेको प्रहरीले जनाएको छ।

अवैध रुपमा क्यासिनो खेलाइरहेको गोप्य सूचनाका आधारमा कालीमाटी प्रहरीले ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको सो क्यासिनोमा छापा मारेको हो।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले छापा मार्दा पक्राउ पर्नेमा चारजना भारतीय नागरिक पनि छन्। क्यासिनोबाट २२ लाख ९६ हजार ९८० रुपैया बरामद भएको कालीमाटी वृतका डीएसपी अपिल बोहोराले जानकारी दिए।

पक्राउ परेकामा ६ जना क्यासिनो खेल्ने र ४ जना खेलाउने रहेको डीएसपी बोहराले बताए।

खेल्नेहरुमा भारत मोतिहारीका ३८ वर्षीय रंजित कुमार जैसवाल, ३५ वर्षीय सोहन प्रसाद, बिहारका ४२ वर्षीय मुमताज मिँया, कलकताका ५० वर्षीय शेख मुर्तुजा अलि, जनकपुरका ३२ वर्षीय राज कुमार सिंह र बाराका ३७ वर्षीय टिन्कु प्रसाद छन्।

त्यस्तै अवैध रुपमा क्यासिनो खेलाउनेहरुमा मेनेजर महेश मल्ल, सहायक मेनेजर कमल देव चौधरी, एडमिन स्टाफ अजय यादव, क्यासियर सचिन वाग्ले रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया