

कांग्रेसले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर पार्टीको निर्णय लिने

काठमाडौँ – नेपाली कांग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार निर्णय लिने निष्कर्ष निकालेको हो ।
बैठकमा संवैधानिक, राजनीतिकलगायत विभिन्न कोणबाट छलफल भएको र समग्रमा कांग्रेसले लिने निर्णयले संविधान र लोकतन्त्र जनतालाई केन्द्रमा राख्नुपर्ने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा कांग्रेसले धैर्यतापूर्वक नहातिरिएर निर्णय लिनुपर्नेमा नेताहरुको एकमत रहेको उनले बताए ।
यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने जिज्ञाशामा उनले शुक्रबार बस्ने पार्टीको संसदीय दलको बैठकमा सांसदको राय-सुझाव लिएर निर्णय लिइने बताए ।

