

बाँकेको नौबस्ता बालसुधार गृहमा ‘ग्याङफाइट’, नियन्त्रणमा लिन थप प्रहरी परिचालन

काठमाडौं — बाँकेको एक बाल सुधारगृहमा तनाव भएको छ । बाँकेको बैजनाथ गाउँपालिका २ स्थित नौबस्तामा रहेको सुधार गृहमा दुई समूहबीचको विवादले उग्ररुप लिएको छ ।
शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररुप लिँदै आज थप तनाव भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए ।
पोखरेलका अनुसार ग्याङफाइटमा घाइते भएका ४ जनालाई उपचारपछि सुधारगृहमा फिर्ता ल्याइएसँगै तनाव भएको हो । दुई समूहलाई छुट्टाछुट्टै ब्लकमा राखिएपनि एक समूहले ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट एक गाडीमा क्षति पुग्नुकै साथै सुधारगृहमा तनावको अवस्था रहेको हो ।
अहिले सुधारगृह क्षेत्रमा थप सुरक्षाकर्मी पठाइएको पनि जनाइएको छ ।

