
दुबई पठाइदिने भन्दै तीन लाख ठग्ने दुई जना पक्राउ
काठमाडाैं – दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन्।
चितवन रत्ननगर -१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया चमेली चुहान पक्राउ परेकी हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार नविनलाई नयाँ बानेश्वर र चुहानलाई बालाजुबाट पक्राउ गरेको हो।
उनीहरूविरूद्ध जगतबहादुर विष्टले वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ लिएपछि सम्पर्कविहीन भएको वैदेशिक रोजगारी विभागमा उजुरी दिएका थिए। सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उनले बताए।



कागजपत्र |
