

६५ वर्षीय माओवादी नेताबाट बलात्कृत भएकी किशोरीलाई प्रेमीले पनि छाडेनन्

काठमाडौं– काठमाडौंमा किशोरी बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय भूमिनन्द देवकोटा र सोही ठाउँ बस्ने २७ वर्षीय दिपेश नेपाली रहेका छन् ।
प्रहरी वृत नयाँ बानेश्वरका अनुसार देवकोटामाथि आफ्नै संरक्षण्मा रहेकी १७ वर्षीया किशोरीलाई बलात्कार गर्दै आइरहेको आरोप लागेको छ । देवकोटा गोरखाका माओवादी नेता रहेको बताइन्छ ।
उनले किशोरीलाई ६ वर्षको उमेरदेखि नै संरक्षणमा राखेको पाइएको छ । तर, पछिल्लो समय उनको नियत खराब भएपछि एक वर्षअघिबाट आफूमाथि देवकोटाले बलात्कार गरेको किशोरीको आरोप छ ।
देवकोटाबाट पीडित भएपछि किशोरी घर छाडेर प्रेमी भनिएका दिपेश नेपालीसँग बस्दै आएकी थिइन् । तर, ती युवकले पनि आफूलाई कात्तिक ३० गते बलात्कार गरेको किशोरीको आरोप छ ।
हाल दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

