अढाई करोड खर्चिएर रामदेवलाई खप्तड पुर्‍याउँदा पनि किन बढेनन् पर्यटक ?


काठमाडाैं – गत जेठमा सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा जेठ २३, २४ र २५ गते उक्त सम्मेलन भएको थियो ।

उक्त सम्मेलनमा योगगुरु बाबा रामदेब र बालकृष्ण आचार्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसमेत पुगेका थिए । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन भन्दै भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख बालकृष्णलाई त्यहाँ बोलाइएको थियो । उनीहरु दुवै तथा अन्य अतिथिलाई धनगढीबाट खप्तड क्षेत्र ओहोर–दोहोर गराउन हेलिकोप्टर प्रयोग भएको थियो । आचार्य बालकृष्णलाई हेलिकप्टरमार्फत् अछामको वैद्यनाथ धाम, रामारोशन पर्यटकीय क्षेत्र र बाजुराको बडिमालिकासमेत घुमाइएको थियो ।

उक्त हेलिकोप्टरको भाडा तथा अन्य व्यवस्थापन खर्च सुदूरपश्चिम प्रदेश सरकारकारले व्यहोर्ने भनिएको थियो । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका अनुसार सो सम्मलेनमा करिब अढाई करोड खर्च भएको थियो । आधिकारिक खर्च विवरण माग्न पर्यटन मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसी सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर बन्द रहेको पाइयो । यस्तै विकास समितिका कार्यकारी अधिकृत भीम खड्काको मोबाइल नम्बर पनि अफ छ । यद्यपि विकास समितिका अध्यक्ष उक्त सम्मेलनपछि प्रदेश सरकारले खर्च भएको ४२ लाख हालसम्म पनि भुक्तानी नदिएको बताएका छन् ।

आध्यात्मिक सम्मेल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रलाई अन्तर्राष्ट्रिय आध्यात्मिक खप्तड धामका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बाबाले पनि खप्तडलाई धार्मिक स्थलका रूपमा थप अगाडि बढाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताएका थिए ।

तर, दुवैले भनेजस्तो आजसम्म त्यहाँ केही परिवर्तन भएको छैन । पर्यटकलाई आकर्षित गर्न तथा खप्तडलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन भन्दै गरिएको उक्त सम्मेलनपछि पर्यटकको संख्या नबढेको तथ्यांकले देखाएको छ । झन् भारतीय पर्यटकको संख्या शुन्य रहेको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ ।

तर सुदूरपश्चिममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी भने उक्त आध्यात्मिक सम्मेलनपछि खप्तडको व्यापक प्रचारप्रसार भएको बताउँछन् । ‘हामीले त्यो सम्मेलनलाई उपलब्धीमुलक नै मानेका छौं । प्रधानमन्त्री तथा भारतीय गुरुहरु जानुभयो’ उनले भने, ‘अहिले पनि भारतका सञ्चारमाध्यममा खप्तडबारे समाचार आइरहन्छन् । खप्तडको प्रचारप्रसार गर्ने उदेश्य थियो, त्यसपछि खप्तडको अन्तर्राष्ट्रियकरण भएको छ ।’

 

किन घट्दैछन् पर्यटक?

विभिन्न समयमा फरक–फरक तरिकाले प्रचारप्रसार हुँदाहुँदै पनि खप्तड क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वर्षेनि घट्दै गइरहेको पाइएको छ ।  आर्थिक वर्ष २०७४/७५ खप्तड भ्रमण गर्ने पर्यटकको संख्या ६ हजार ८६६ जना रहेको छ । जसमध्ये विदेशी २८ जना, सार्क राष्ट्रका ७ र नेपाली ६ हजार ८३१ रहेका छन् । आर्थिक वर्ष २०७५/७६ भने त्यो संख्या घटेर ३ हजार ७२० पुगेको छ । जसमा विदेशी ४९ जना, सार्क राष्ट्रका १८ र नेपाली ३ हजार ६५३ रहेका छन् ।

यस्तै २०७६/०७७  मा ७४६ र आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ६८८ जना पर्यटक खप्तड पुगेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा विदेशी १९, सार्क राष्ट्रका ३  र नेपाली २ हजार १८७ गरि २ हजार २०९ जना खप्तड गएका छन् । गत आर्थिक वर्षमा भने त्यो संख्या थोरै बढेर २ हजार ८९१ पुगेको छ । ती मध्ये ७० जना विदेशी, २२ जना सार्क राष्ट्रका र नेपाली २ हजार ७९९ रहेका थिए ।

यो आर्थिक वर्षको साउनदेखि यो समाचार तयार पार्दासम्म भने १५ जना बाह्य पर्यटक र र ४९२ जना आन्तरिक पर्यटक गरेर ७२८ जनाले खप्तड भ्रमण गरेको निकुञ्जले जनाएको छ । यो संख्यामा सार्क राष्ट्रका पर्यटक नअटाएको तथ्यांकले देखाएको छ । यस्तै गत आर्थिक वर्षमा २२ जना सार्क राष्ट्र (भारत)बाट आएका २२ जना पनि मेलामा व्यापार गर्न आएका भारतीय व्यापारी रहेको खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए ।

खप्तड क्षेत्रमा लाग्ने गंगा दशहरा मेला र जनैपूर्णिमाको मेला भर्न आएका भक्तजन तथा पर्यटकको गणना भने नभएको सिंहले बताए ।

यसरी पर्यटकको संख्यालाई घट्नुको मुख्य कारण आर्थिक मन्दी, महंगो भाडादर तथा सेवा सुविधाको कमी भएको पर्यटन व्यवसायी तथा खप्तड होमस्टेका सञ्चालक दिपक खड्का बताउँछन् । ‘काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा एकदमै महंगो छ । त्यसैले पर्यटक सस्तो मै पुगिने पूर्वी क्षेत्रका पर्यटकीयस्थल जान रुचाउँछन्’ उनले भने, ‘अर्को यता पूर्वाधारको कमी छ । अनि खप्तड पुग्ने पर्यटकलाई अन्य खाना बस्ने पनि राम्रो व्यवस्थापन छैन । सोही कारण एकपटक आएको पर्यटक फर्किएर आउँदैन र उसले अन्यलाई पनि नजान सल्लाह दिन्छ ।’

पर्यटकीय गन्तव्य नजिकै स्वास्थ्य केन्द्र, आपतकालीन पर्यटक खोज तथा उद्दार केन्द्र तथा उपकरण, पर्यटन प्रहरी नहुनु जस्ता चुनौतीले पनि खप्तडमा पर्यटको संख्या बढ्न नसकेको डडेल्धुराका पर्यटन व्यवसायी दानबहादुर भण्डारी बताउँछन् ।

यस्तै प्रादेशिक आन्तरिक हवाई सेवा, स्तरीय सडक, पदमार्गमा आरामदायी आवासगृह तथा रेष्टुरेन्ट नहुनु तथा आधुनिक पर्यटन सूचना केन्द्र नहुँदा खप्तडमा मात्रै नभएर सुदूरपश्चिममै पर्यटक आउननसकेको पर्यटन व्ययसायी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्री रमेशसिंह धामीले प्रचार प्रसारबाहेक यो वर्ष खप्तड जाने पदमार्ग निर्माणका लागि एक करोड बजेट छुट्याएको बताए । ‘अहिले डोटी वा बझाङमध्ये कुन ठाउँबाट भनेर टुंगिएको छैन । जताबाट नजिक पर्छ त्यहि व्यवस्थित पदमार्ग बनाउन एक करोड छुट्याएका छौं’ उनले भने ।

 

किन जाने खप्तड ?

सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलका रूपमा चिनिने खप्तड राष्ट्रिय निकुञ्ज चारवटा पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछामको बीचमा पर्छ । पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको क्षेत्रको रुपमा खप्तड चिनिएको छ ।

२०४२ सालमा घोषणा गरिएको खप्तड राष्ट्रिय निकुञ्ज २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्छ । यस निकुञ्जमा सल्ला, खसुर र निगालोका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ रतुवा मृग, कस्तुरी, मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुरका साथै डाँफे, मुनालजस्ता चराचुरुंगीहरू पाइन्छन् ।

समुद्र सतहबाट २ हजार ४ सयदेखि ३ हजार ७ सय मिटरसम्मको उचाइमा रहेको यस क्षेत्रभित्र त्रिवेणी धाम, सहस्र लिंग, बाबा आश्रम, बाबा कुटी, घोडा दाउन पाटन, खप्तड दह, डाँफेकोट, गणेश पाटन, नागढुंगा, छत्रेपानी आदि आकर्षक गन्तव्य छन् । यसका अलावा यस क्षेत्रमा २२ वटा ठूला पाटन र ५२ वटा झोता (रूखका थुम्का) रहेका छन् ।

प्राकृतिक धार्मिक र साँस्कृतिक विविधताले भरिएको खप्तड क्षेत्रमा गंगा दसहरा मेला र जनैपूर्णिमामा लाग्ने खप्तड जात्रा प्रसिद्ध रहेको छ ।

 

कसरी पुग्न सकिन्छ?

काठमाडौंदेखि कैलालीको अत्तरिया ६५० किलोमिटर रहेको छ । जहाँसम्म बसमा पुग्न १४ घन्टा लाग्छ । यस्तै काठमाडौं–धनगढी एक घन्टाको हवाई यात्रा गरेर पनि पुग्न सकिन्छ ।

खप्तड पुग्न कैलालीको अत्तरियाबाट महाकाली राजमार्ग र सेती राजमार्ग हुँदै जाँदा ८ घण्टामा डोटीको सदरमुकाम सिलगढी पुग्न सकिन्छ । सिलगढीबाट दुई पीपल, झिग्रानासम्म मोटरमा पुग्न सकिन्छ र झिग्रानाबाट गोरेटो बाटो पैदल हिँड्दै खप्तड क्षेत्र पुगिन्छ ।

यस्तै अत्तरियाको बाटो भएर महाकाली राजमार्ग र सेती राजमार्ग हुँदै ८ घण्टामा बझाङको सदरमुकाम चैनपुरनजिकै रहेको तमैल बजार पुगिन्छ । त्यहाँबाट जीप चढेर १ घण्टा ३० मिनेटमा कालुखेत हुँदै दारुगाउँसम्म पुग्न सकिन्छ । त्यहाँबाट छान्ना लोहखडा हुँदै करिब ३ घण्टाको पैदल यात्रापछि खप्तड क्षेत्र पुगिन्छ ।

यहाँको मौसम सामान्यतया चिसो हुने गर्छ । सोही कारण चैतदेखि असार मसान्त यस क्षेत्रको भ्रमण गर्नु निकै नै राम्रो मानिन्छ ।

प्रतिक्रिया