

लोकन्थलीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर – तेल ट्यांकरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार साँझ मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थली चोकमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
जडिबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ४७७४ नम्बरको ट्यांकरले बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठूलो सिरूवासी घर भई सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरी गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा बेलुकी ७ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।
ट्यांकर र चालक तुलबहादुर माझीलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ।

