

दुवाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

भक्तपुर – भक्तपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
बिहीबार बिहान सवा ६ बजे भक्तपुर नगरपालिका-१ नगरकोटमोड खानेपानी कार्यालय नजिकै स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
दुवाकोटबाट सल्लाघारी जाँदै गरेको बा. ६९ प. ९१० नं. को स्कुटरले बाटो काट्दै गरेकी भक्तपुर नगरपालिका-१ सल्लाघारीकी ६८ वर्षीया भुलिमाया धुगुछुलाई ठक्कर दिएको थियो।
ठक्करपछि गम्भीर घाइते भएकी उनलाई डा. इवामुरा अस्पताल भक्तपुरमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ६:४५ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।
घटनास्थलमा परिसरबाट खटिएको टोलीले स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका-४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

