

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने शंखमुलस्थित फ्लाइङ ट्याप एजुकेशन एन्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक विष्णु केसीलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।
४५ वर्षीय केसीले पवनराज दाहाललाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
उनले मासिक २ लाख आम्दानी हुने भन्दै १७ लाख ७९ हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरीको भनाइ छ। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–८ घर भएका केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

