

मनकारी वडाध्यक्ष, आफू चढ्ने मोटरसाइकल दिए स्वास्थ्य चौकीलाई

दिपायल – डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाध्यक्ष चन्द्रमान सुनारले आफू चढ्ने मोटरसाइकल स्वास्थ्य चौकीलाई प्रदान गरेका छन्। आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष सुनारले मोटरसाइकल चवरा चौतारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्षसमेत रहेका सुनारले आफूले प्रयोग गर्दै आएको से १ ब १२१८ नम्बरको मोटरसाइकल स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकलाई हस्तान्तरण गरेका छन्।
वडाको कार्य सहजताको लागि मोटरसाइकल आफूले प्रयोग गरे पनि हाल स्वास्थ्य चौकीलाई त्यसको आवश्यकता बढी रहेकोले हस्तान्तरण गरिएको उनले बताए।
मोटरसाइकल बुझ्दै स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकले स्वास्थ्य चौकीको एउटा आवश्यकता पूरा गरिदिएकोमा वडाअध्यक्ष सुनारलाई धन्यवाद दिए। अध्यक्षले गरेको सहयोगले बिरामीले घरमै बोलाएको बेला पैदल जानुपर्ने बाध्यताबाट थोरै भए पनि मुक्ति मिल्ने उनले बताए।

