निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढ्यो, फास्ट ट्रयाकबाट सामग्री किन्ने आयोगको निर्णय


काठमाडौँ – निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेका लागि घोषण गरिएको मध्यावधी निर्वाचनका लागि चाहिने सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरि चुनावको घोषण गरे लगतै राजनैतिक विवादका कारण सर्वोच्च अदालतमा परेका रिट बिचाराधिन अवस्थामा रहेको र वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला आयोगले चुनावका लागि आवश्यक सामाग्री खरिद प्रक्रिया शुरु गरेको हो ।

आयोगले सार्वजनिक खरिद ऐन २०६४ र नियमावलीअनुसार नियमित प्रक्रियाबाट सामान खरिद गर्दा वैशाखमा चुनाव गर्न संभवन नहुने भएकाले फास्टट्रकबाट सामाग्री खरिद गर्न बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो। सोमबार बसेको आयोगको बैठकले मंगलबारदेखि ७ दिनको समय दिएर बोलपत्र आह्वान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

निर्णयमा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भवप्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको छ।’

आयोगले चुनावका लागि मतदान केन्द्रमा चाहिने सामाग्रीलाई ११ समूहमा विभाजन गरेर खरिद गर्न लागेको हो। चुनाव गर्न ६७ किसिमका सामाग्री चाहिने आयोगका एक कर्मचारीले बताए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेका रिट निवेदनको फैसला कुरेर बसेको आयोगले फैसला आउनु केही दिन अघि खरिद प्रक्रिया अघि बढाएको छ। संसद पुनःस्थापना भए चुनावको सन्दर्भ नै सकिने हुँदा आयोग अदालतलाई कुरेर बसेको थियो।

तर चुनावका लागि जनताले देखिने गरी काम नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमै आलोचना गरेपछि आयोग दबाबमा परेर खरिद प्रक्रिया थाल्न बाध्य भएको हो।

तर राजनीतिक रुपमा विभाजित नेकपाको पुष्पकमल दाहाल माधव नेपाल पक्षले भने चुनाव हुनै नसक्ने भएकाले आयोगलाई अघि नबढ्न चेतावनी दिँदै आएको छ।

आयोगले बोलपत्रका फारमका किन्न लागि १७ गतेसम्मको अवधि दिएको छ भने टेण्डर १८ गते दिउँसो १२ बजेभित्र हालिसक्नुपर्ने जनाएको छ।

 

प्रतिक्रिया