

फिल्म ‘एक भगवत् गीता’को विवाद मिल्यो

काठमाडौं – फिल्म ‘एक भगवत् गीता’को शीर्षक परिवर्तन गर्ने सहमतिसँगै नामलाई लिएर उत्पन्न विवाद मिलेको छ । आइतबार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मकर्मी, फिल्मको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरुबीच भएको छलफलले फिल्मको नयाँ शीर्षक ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमति जुटेपछि विवाद मिलेको हो ।
हिन्दू धर्मग्रन्थ ‘श्रीमद्भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै हिन्दूवादी संस्थाहरुले आपत्ति जनाएका थिए । र, फिल्मको नाम परिवर्तनको माग राख्दै बोर्ड र सूचना मन्त्रालयमा निवेदन समेत दिएका थिए । यसपछि बोर्डले विवाद भएको भन्दै फिल्मको सेन्सर सिफारिस रोकेको थियो । विवाद मिलेसँगै आइतबार नै फिल्मले सेन्सर सिफारिस पाउने भएको छ ।
फिल्मको नयाँ शीर्षक भने अब ‘एक भागवत् र एक गीता’ हुने भएको छ । छलफलमा फिल्मको टिम र हिन्दूवादी संगठन, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी, निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने, निर्माता तथा निर्देशक कृषा चौलागाईं सहभागी थिए ।
अभिनेता विपिन कार्कीको सशक्त भूमिका रहेको फिल्ममा लैंगिक अल्पसंख्यकलाई समाज तथा परिवारले गर्ने तिरस्कारका साथै समानता र न्यायको लडाईं लडेको देखाइएको छ ।
यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपिन, सुहाना थापा र धिरज मगरबाहेक जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको पनि अभिनय छ ।
फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनले संवाद लेखेका छन् ।

