


सेन्सर पास हुँदै ‘एक भागवत् गिता’, आज संयुक्त पत्रकार सम्मेलन गरिँदै

काठमाडौं – झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई केही संशोधनसहित आज सेन्सर पास गर्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।
‘बोर्डमा बिभिन्न धार्मिक संस्थाले निवेदन दिएर विवाद निम्त्याएका कारण मिलाएर लैजानका लागि केही ढिलाइ भएको हो, हामी फिल्मलाई सेन्सर सिफारिस नदिने पक्षमा कहिल्यै थिएनौं र छैनौ पनि,’ प्रवक्ताले भने ।
सेन्सर सिफरिसका लागि नाममा केही परिवर्तन गरेको सच्याएको बुढाथोकीको भनाइ छ । निर्माण टिमले फिल्मको नामको अगाडि एक र बीचमा ड्यास् राख्ने बताएपछि धार्मिक संघ संस्थाहरु फिल्म रिलिज गर्न दिने सहमतिमा जुटेको बताइन्छ ।
चलचित्रको नाम ‘भगवत गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै बिभिन्न धार्मिक संस्थाहरुले नाम परिवर्तनको मागसहित बोर्डमा निवेदन दिएका थिए ।
बोर्ड, निर्माण पक्ष र धार्मिक संघ–संस्थाले आज बोर्डमा नै संयुक्त पत्रकार सम्मेलन समेत गर्ने तयारी गरेका छन् ।
झरना थापाको निर्देशनमा सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरबाट निर्मित फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको मुख्य भूमिका रहेको छ । फिल्म २९ भदौ अर्थात अगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

