


प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी-२’ भदौ २६ मा

काठमाडौं – सर्जक प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । दसैँको फूलपाती (कात्तिक ४) मा प्रदर्शन आउने तयारीमा रहेको यो फिल्म एक साता अगाडि नै आउने भएको हो ।
यो फिल्म कात्तिक ४ मा रिलिज हुने भनिएको फिल्म ‘पशुपति प्रसाद २ःभस्मे डन’सँग जुध्न लागेको थियो । अहिले उक्त फिल्मका टिमसँग सल्लाह गर्दै अलग–अलग प्रदर्शन गर्न लागेका हुन् । ‘परदेशी २’ असोज २६ गते र ‘भस्मे डन’ कात्तिक ४ गतेबाट प्रदर्शन गर्ने सहमति दुवै फिल्मबीच भएको छ ।
दुवै फिल्मका निर्माताले एक संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै चौथौँ पटकको छलफलमा अलग–अलग मितिमा फिल्म प्रदर्शन गर्ने सहमति भएको जनाएका छन् । ‘जुधेर होइन जुटेर सफलता हात पार्न सकिन्छ भन्ने कुराको पाठ नेपाली फिल्मका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ । त्यसैले पनि हामी जुधेर होइन जुटेर जाने निर्णय गर्यौ’ विज्ञप्तिमा भनिएको छ ।
नारायण रायमाझी निर्देशित ‘परदेशी २’ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।
गायक सपूतले यही फिल्मबाट अभिनेताको रूपमा डेब्यू गरेका हुन् । फिल्मको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी रहेका छन् ।

