नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन : मन्त्री किराँती


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्ने बताएका छन्।

बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन्। उनले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएको आरोप लगाउँदै तर त्यस्तो हुन नसकेको उल्लेख गरे।

उनले नेपालमा पछिल्लो समय केही तत्वहरुले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गरे। मन्त्री किराँतीले नेपाल सबै जाति,धर्म र संस्कृतीको साझा फूलबारी रहेको भन्दै केही तत्वहरुले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए।

उनले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण, विकास, संवर्द्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृतिमाथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गरे।

मन्त्री किराँतीले नेपाल प्राकृतिक,धार्मिक र सांस्कृतिक रुपमा धनी, ठूलो र सुन्दर रहेको बताए। संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल‚ पहाड‚ तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीहरुको मौलिकता रहेको मन्त्री किराँतीको भनाई छ।

उनले संसारका मानिसहरुलाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गरे। नेपालको जंगल, जडिबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिक रुपमा धेरै माथि पुग्ने बताए।

उनले भने, ‘नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रुपमा धनी र ठूलो सुन्दर पनि छ। संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल पहाड तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपाली मौलिकता हो। यही हो नेपालीको परिचय, पहिचान र सम्पत्ति। नेपालको संस्कृति र प्रकृति वास्तवमा हिरा हो‚ सुन हो। संसारका मानिसहरुलाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसक्यौं भने स्वाभाविक रुपमा पर्यटनबाट धेरै आर्जन गर्न सक्छौं। कृषिमा धेरै गर्नुपर्दैन। आत्मनिर्भर मात्रै भयौं भने पुग्छ‚ बेच्नु पर्दैन।’

उनले नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको बताए।

‘हाम्रो साझा फूलबारीमाथि फेरि कतिपय त्यस्ता तत्वहरुले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न खोजिरहेका छन् तर नेपाली समाजले इतिहासदेखि अहिलेसम्म नेपाली समाजले प्रमाणित गरिसकेको छ। नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन‚’ उनले आरोप लगाए‚ ‘साम्प्रादायिकता भड्काउने काम राजाको पालादेखि शुरु भएको हो। सेता मगुराली र अन्यको बीचमा काटाकाट गर्ने स्थिति बनाउने नाराहरु नेपालमा स्थापित बनाइएको थियो। नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण, विकास, संवर्द्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृतिमाथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट छ। लोकतन्त्रमा हामी सबैले सहिष्णुता कायम गरौं।’

प्रतिक्रिया