

नेकपा विभाजनः पूर्वएमालेको ध्रुवीकरण सुरु, प्रचण्डको राजनीतिक नोक्सानी यात्रा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको गतिमा तिव्र रुपमा अघि बढिरहेका बेला पूर्वएमालेको ध्रुवीकरण सुरु भएको छ। यसले पूर्वएमालेको ठूलो पंक्ति बोकेर बहुमतमा रहेको दाबी गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई राजनीतिक नोक्सानी हुने संकेत देखिएको छ।
खासगरी नेपालको लाइनमा रहेका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किने निर्णयसँगै दिएको मतले स्पष्ट पारेको छ। उनीसँगै पत्नी तथा नेत्री उषाकला राई पनि ओली समूहमा फर्किएकी छन्। पूर्वएमालेका अन्य केन्द्रीय सदस्य तथा पूर्वसांसद पनि ओली समूहमा फर्किने मनसायमा छन्।
‘विस्तारै दुई, चार र १० जना गरेर फर्किने तयारी छ। चुनावको घोषणा र सूर्य चिन्हको विषयले साथीहरू अलमलमा छन्। ओली समूहमा आउनासाथ तत्कालिन एमालेको मूल नेतृत्वबाहेकको ठूलो संख्यामा ध्रुवीकरण हुनेछ’, एक नेताले भने।
बुटवलको कार्यक्रममा मात्र होइन अनेक फोरममा उर्जामन्त्री तथा नेकपा ओली समूहमा रहेका नेता टोपबहादुर रायमाझीले भनेका थिए,‘अब ध्रुवीकरण सुरु हुनेछ।’ उनले प्रचण्डले भने जस्तो कोही मन्त्री उता (प्रचण्ड) समूहमा जानेवाला छैन भन्दै थपेका थिए,‘बरु उताबाटचाहिँ आउने क्रम सुरु हुनेछ।’ रायमाझीले भने जस्तै प्रचण्ड समूहमा रहेका तामाङ र राई ओली समूहमा फर्किएका छन्।
तामाङले फर्किनुको कारण सुनाउँदै भनेका छन्,‘प्रचण्ड एउटा समूहको मात्रै नेतृत्व भयो। पद्दती र नीति भएन। पूर्वएमाले, संगठित पार्टी र नीतिको माया लाग्ने यतातिर (ओली) समूहमा आउँदा हुन्छ।’ उनले कुनै लोभका कारण नआएको पनि बताएका छन्। उनी ओली क्याबिनेटमा मन्त्री हुँदा राजीनामा गर्ने कानुन मन्त्री हुन्।
नेकपा विभाजन भएको बेला उनी प्रचण्ड समूहमा पुगेका थिए। तर पद्दती र नीति नभएपछि फर्किएको बताएका छन्। ‘विस्तारै पूर्वएमालेका नेता फर्किनेछन्। केहीलाई नेतृत्व चाहिएका कारण उतै बस्लान्, कोही मन्त्री नपाएर उतै बस्लान्। तर जसले एमालेको संगठित संरचना, पद्दतीमा काम गरेको छ। ऊ निश्चय नै फर्किनेछ’, एक नेताले भने,‘अब एकीकृत कम्युनिस्ट, संगठित र पद्दतीको राजनीतिमा पूर्वमाओवादीका असन्तुष्ट नेता पनि फर्किनेछन्।’
कतिपयले अहिले विवादको अवस्थामा रहेका कारण प्रचण्ड–नेपाल समूह नछाड्ने देखिएका छन्। तर चुनाव हुने अवस्था आएको खण्डमा पूर्वएमालेका धेरै नेताहरू फर्किनेछन्। ‘चुनाव निकास हो भन्ने विषयमा धेरैको मत मिलेको छ, चुनाव बहिस्कार गर्न सकिँदैन भन्ने समूह प्रचण्ड पक्षमा ठूलो छ। तर चुनाव गर्न नै हुँदैन भन्ने अडान नेतृत्वमा रहनु स्वार्थ मात्र जस्तो देखिन्छ’, एक जना केन्द्रीय सदस्यले भने।
पूर्वएमालेको संगठनभित्र गुट भए पन विभाजनको चोट भोगेर उठेको चेतना रहेका कारण ढिलो चाँडो माधवकुमार नेपाल पनि फर्किने धेरैमा विश्वास रहेको छ। ‘अध्यक्ष तथा प्रधानमन्त्री ओलीपछाडिको अध्यक्ष वा नेता खोई? यत्रो संगठित पार्टीको नेता भनेको नेपाल नै हुन्, उनी फर्किनेवाला छन्’, उच्च स्रोतले भन्यो,‘ओलीले अब विश्राम लिन्छु भनिसकेको अवस्थामा प्रचण्डसँग स्पर्धा गरेर नेपाल रहलान्? बस्न सक्लान्?’
प्रचण्डलाई राजनीतिक संकट
पूर्वमाओवादीभित्रका पनि तत्कालिन बाबुराम र मोहन वैद्य पक्ष तथा प्रचण्डले पनि विश्वास गरेका केही नेता अहिले ओली समूहमा रहेका छन्। प्रचण्डले कर्नरमा राखेका ति नेताले एकता जोगाउने पक्षमा मत जाहेर गर्दै आएका थिए।
यस्तै उनीहरूमार्फत नै बहिर्गमित लडाकु, पूर्वजनमुक्ति सेनाको ठूलो पंक्तिले ओलीलाई सघाउने प्रतिबद्धता गरिसकेका छन्। त्यसको बदला प्रचण्डले गर्न नसकेका आफ्ना समस्या समाधानको सम्झौता प्रधानमन्त्री ओलीसँग भएको थियो। जसलाई क्याबिनेटको बैठकले निर्णय नै गरेर सम्बोधन गरिसकेको छ।
‘एक त तत्कालिन माओवादीको संगठनात्मक ग्राउन्डमा यो विभाजनले ठूलो धक्का पारेको छ। अर्कोचाहिँ अघिल्लो चुनावमा मतदाता नै थिएनन्। अहिले ओलीसँगै मतदाता रहेको आँकलन सबैले गरेका छन्’, एक जना केन्द्रीय सदस्य भन्छन्,‘मतदाता भनेका प्रचण्ड, नेपाल वा ओलीको अनुहार होइन, सूर्य चिन्ह हेरेर तयार हुने हुन्। र, आयोगको आधिकारिकताले नेकपा विभाजन भएको छैन भनिएको छ, चुनावमा नजानेसँग कोही सती जान सक्ला र?’
पार्टी एकता अभियानमा सक्रिय रहेका बामदेव गौतम पनि चुनावमा जाने तयारीमा छन्। त्यसैले अन्ततः उनी पनि ओलीसँगको सहकार्य र सम्झौतामा आइपुग्ने भएकाले प्रचण्ड–नेपाल समूह अत्यन्त कमजोर हुने अवस्थामा पुगेको आँकलन गरिएको छ।
‘प्रचण्डले ओलीको राजनीतिमा धक्का दिने कोशीश गरेका थिए, ओलीले प्रचण्डलाई नै खुइल्याउने अवस्था आयो’, स्रोतले भन्यो,‘अन्तर्राष्ट्रिय समुदाय र शक्तिले पनि चुनावलाई नै समर्थन गरेको पाइयो, प्रचण्डको आह्वानलाई अनुमोदन गरेका छैनन्।’

