

नजिकिएको तीजसँगै गीतहरुको बाढी, कसका गीत कस्ता ?

काठमाडाैं – नेपाली महिलाहरुको महान् चाड तीज नजिकिँदै गएसँगै सांगीतिक सिर्जनाहरुको बाढी लाग्ने नै गर्दछ । विशेष गरी लोकगीतसँग सम्बन्धित कलाकारहरुले तीजका अवसरमा हरेक वर्षजस्तो गीत सार्वजनिक गर्ने गर्दछन् । अघिल्ला वर्षहरुमा बैशाखदेखि नै तीजका गीत सार्वजनिक गर्ने सर्जकहरु केही हदसम्म यसपटक अलि धैर्य देखिए ।
नेपाली लोकदोहोरी क्षेत्र एवं लोक क्षेत्रका चर्चित गायक गायिकाहरुले तीजको पूर्वसन्ध्यामा हरेक वर्ष झै यसवर्ष पनि तीजसम्बन्धी गीतहरु सार्वजनिक गरेका छन् । महिलाहरुको विशेष चाडका रुपमा मानिने तीजमा कतिपयले नारी संवेदना, सामाजिक चेतना र वास्तविक घटनाहरुलाई गीतका माध्यमबाट बाहिर ल्याउने गर्दछन् ।
त्यसैको उदाहरणस्वरुप वास्तविकतालाई शब्द र संगीत भरेर बजारमा ल्याउने गरेका चर्चित लोकदोहोरी गायक पशुपतिले शर्माले यसपटक २ वटा गीत वजारमा ल्याएका छन् । उनको आफ्नै यूटुव च्यानलमार्फत बजारमा ल्याएको ‘मन परेको मान्छेले किन बोलाउँदैन’ भन्ने वोल रहेको गीत शर्माकै शब्द, संगीतमा गायिका सम्झना भण्डारीले गायनमा साथ दिएकी छिन् ।
पशुपतिको उक्त गीतले अहिलेसम्म लगभग १२ लाख भ्यूज पाइसकेको छ भने अघिल्लो साता ‘झुक्याउन पाँइदैन’ भन्ने गीत ल्याएका पशुपतिलाई निशा केसीले साथ दिएकी छिन् । आफ्नै शब्द र संगीतमा निशासँग गीत गायका पशुपतिको उक्त गीत पनि अहिले बजारमा राम्रैसँग चलिरहेको छ ।
तीजलाई लक्षित गर्दै खुमन अधिकारी, सूर्य खड्का, शान्तीश्री परियार, समिक्षा अधिकारी शिला आले, टिका पुन, राधिका हमाल, पूर्णकला विसी, प्रिती आले, टिका सानुलगायत लगभग दुई दर्जन कलाकारको आवाजमा ‘तिज चाड नारीको’ बजारमा ल्याइएको छ । दुर्गा पौडेलको शब्द र खुमन अधिकारीको संगीत रहेको उक्त गीतले अहिले २२ लाख बढी भ्यूज पाइसकेको छ ।
त्यस्तै शालीन एवं भद्र गायिकाको रुपमा परिचित अस्मिता डल्लाकोटीले थुप्रै गीतहरु बजारमा ल्याएकी छिन् । विवाहपछि आक्रामक रुपमा बजारमा छाएकी अस्मिता पछिल्लो समयकी सर्वाधिक व्यस्त र लोकप्रिय कलाकारका रुपमा देखिएकी छिन् । उनको आमै प्यारो बोलको गीत लगातार टे«न्डिङको शीर्ष स्थानमा अडिइरहेको थियो भने सासु कलाकार, बत्ती पिलिपिलिलगायतका गीतहरुले अहिले बजार पिटिरहेका छन् ।
यस बर्ष पनि गायीका टिका सानुले तीज गीत सर्वजनिक गरेकी छन् । दुई हप्ता अगाडि बजारमा आएको गीत ‘आमा बिनाको तीज’ सार्वजनिक भएको छ । गीतमा टिका सानु र आश्मा बन्जाडेको आवाज रहेको छ । सार्वजनिक गीतमा शब्द टिका सानुको आफ्नै र संगीत झलक संगीतमको रहेको छ । त्यस्तै विगत ६ वर्षदेखि बुहारी गीतको सिरिजनै सार्वजनिक गर्दै आएकी टिकाले बुहारी भाग ६ पनि बजारमा ल्याएकी छिन् ।
गायिका एलिना चौहान पनि यसवर्ष तीज गीत वजारमा ल्याएकी छन् । आफ्नै युटुव च्यानलबाट कस्ले देख्यो र बोलको गीत सार्वजनिक गरेकी छिन् । दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीत पनि अहिले युट्युब ट्रेन्डिङमा परिरहेको छ ।
त्यस्तै गायिका रचना रिमालको गीत पनि भर्खरै सार्वजनिक भएको छ । ‘तिजको संम्झना’ बोल रहेको गीतमा शब्द संगीत दिपक शर्माको रहेको र गायिका स्वयम्को आवाज रहेको छ ।
माथि उल्लेखीत यी केही प्रतिनिधि गायक गायिकाको बारेमा मात्र उल्लेख गरिएको छ । यसको अलाबा अन्य थुप्रै गीत संगीतहरु बजारमा उपलब्ध छन् । मल्लीका कार्कीको रातै सारी रातै टिका, अन्जु सापकोटा र बिन्दु परियारको भाकी छु पातली, सुनिता दुलालको पियारी, सिन्धु मल्लको ऐना हेरी भुतुक्कै लाजैले, पुर्खे बा र तिवारी आमाको पानी मरुवा–५, भूमिका गिरीको उजेली जुनेली पनि बजारमा आइसकेका छन् ।
त्यस्तै शान्तिश्रीले छिटै अरेली काँडैले मलाई च्वास्सै च्वास्सै बोलको गीत सार्वजनिक गर्ने घोषणा गरिसकेकी छिन् । प्रायः तीजका अवसरमा गीत सार्वजनिक गर्ने विष्णु माझी, देवी घर्ती, सुनिता बुढाक्षेत्रीहरु पनि गीतको तयारीमा रहेको बुझिएको छ ।
यी लगायत दैनिक जसो थुप्रै तीजसँगै सम्बन्धित गीतहरु सार्वजनीक भईरहेका छन् । तीज आउन अझै एक महिना बाँकी भएकाले धेरै तीज गीतहरु आउने क्रममै छन् । हरेक वर्षमा गीत ल्याउने कतिपय गायक गायिकाहरुको गीत हालसम्म सार्वजनिक भइसकेको छैन । विगतको इतिहास हेर्दा यही तीजलाई लक्षित गर्दै धेरै कलाकारहरुको गीत आउन बाँकी नै रहेका छन् । कलाकारहरुका लागि सर्वाधिक व्यस्त समय मानिएको यतिबेला कतिपय कलाकारहरु भने तीजका अवसरमा देशविदेश गइरहेका छन् ।

