‘भोले शंकर’ ल्याउँदै गैरे सुरेश


काठमाडौं – सांगीतिक दुनियाँमा गैरे सुरेशका नाममा परिचित सुरेश गैरेले आफ्नो अर्को सांगीतिक सिर्जना शिव भजन सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

डा. कृष्णहरि बरालको लेखन रहेको शिव भजन ‘भोले शंकर, तिम्रै रुप भयंकर ‘ साउनको अन्तिम सोमबारका दिन पारेर भोली अर्थात् सोमबार सार्वजनिक गरिन लागिएको हो ।

पशुपतिलगायतका स्थानमा छायांकन गरिएको उक्त भजनमा कृष्ण ढकाल, कमल तिमिल्सिना, लव सापकोटा, दिपकराज बराल, दामोदर धोदारी, रमेश भुवजी, रोहित घिमिरे, विकास घिमिरे, पशरुराम लामिछाने, प्रमोद विष्ट, सत्यराम पुरी, देवेन्द्र रोक्का र स्वयं सुरेश गैरेले अभियन गरेका छन् ।

सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा छाएका गैरे सुरेश ‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए । त्यसपछि उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भर्दै स्थापित संगीतकारका रूपमा परिचित छन् ।

उनले संगीत गरेका गीत/गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।

सांगीतिक दुनियाँबाट स्रोताहरुको मन जित्न सफल सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत हुन् ।

प्रतिक्रिया