गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर


वाग्मती – उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ ।

अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ । उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश महम्मद साविर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले मनिला विष्टले राजिनामा दिएको कुरालाई खारेज गरिदिएको विष्टकोतर्फबाट बहस गरेका अधिवक्ता मदनकुमार दाहालले जानकारी दिए ।

अदालतले विष्टले राजिनामा दिएको भन्ने कुरा प्रमाणित नभएको भन्दै नियमित कार्यमा रोकतोक हुनु नहुने बताएको अधिवक्ता दाहालले भने । फैसलापछि उपाध्यक्ष विष्टले अदालतले आफूप्रति न्याय गरेको बताए । ‘मैले राजिनामा दिएकै थिएन, मप्रति अन्याय भएको थियो, अदालतले मलाई न्याय दियो’, उनले भने ।

मनहरी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै जना तत्कालीन नेकपा (एमाले) बाट विजयी भएका हुन् । गाउँपालिकाका क्रियाकलाप सञ्चालनका क्रममा केही समयदेखि दुवै जनाबीच मतभेद उत्पन्न भएको थियो । मतभेदकैबीचमा गत मङ्सिर २९ गते उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको खबर सार्वजनिक भएको थियो ।

गत पुस १९ मा गाउँपालिका अध्यक्ष एकलाल उप्रेतीले राजिनामा स्वीकृत गरिएको जनाएका थिए । कार्यपालिकाले माग गरेकाले राजिनामा स्वीकृत गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया