लागूपदार्थसहित भेटिएका २ जना प्रहरीकै गाडीबाट फरार


तनहुँ – इलाका प्रहरी कार्यालय बेलचौतारामा कार्यरत प्रहरी टोलीले माघ १८ गते दुई युवकलाई पक्राउ गर्‍यो । कारण थियो, उनीहरुका साथमा साढे तीन किलोग्राम गाँजा भेटियो ।

यसरी पक्राउ पर्नेमा पोखरा–२६ स्थित जलधारे निवासी १७ वर्षीय सुमन विक र २१ वर्षीय विवेक रावत थिए । पक्राउपश्चात् प्रहरीले अनुसन्धान थाल्यो र त्यसपछि तनहुँ जिल्ला अदालतमा पेश गर्न प्रक्रिया अघि बढाइयो । अदालत लैजानुपूर्व कोरोना पोजेटिभ भए नभएको जाँच्न पीसीआर परीक्षण गर्न माघ २० गते हत्कडी लगाएर पोखरास्थित गण्डकी अस्पतालमा पुर्‍याइएको थियो ।

पीसीआर परीक्षण गरेर तनहुँ फर्कंदै गर्दा पोखरास्थित चाउथेमा आइपुगेपछि गुडिरहेको गाडीबाट दुवैजना प्रहरीलाई धकेलेर भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । फरार युवकको खोजी भइरहेको उनले बताए ।

उनले भने, ‘अब छिट्टै उनीहरु पक्राउ पर्नेछन् ।’ प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग सो घटनाबारे जानकारी लिन खोज्दा त्यसबारेमा थाहा पाएपनि यथार्थ बुझ्न बाँकी रहेको बताए । घटना हुँदाको समयमा जानकारी पाएको थिएँ । उनले भने, “कार्यालयको कामको व्यस्तताले गर्दा प्रहरीसँग बुझ्न र अपडेट हुन बाँकी नै छ ।

प्रतिक्रिया