भागरथी हत्या अभियुक्त पक्राउ गरेपछि डिआईजी सुवेदीसहितलाई गाउँलेको यस्तो पुरस्कार


काठमाडौं– बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टका हत्या अभियुक्त दिनेश भट्टलाई पक्राउ गरेको भन्दै स्थानीयले अनुसन्धानमा खटिएका प्रहरीलाई ‘सम्मान पुरस्कार’ दिएका छन्।

गाउँपालिका, स्थानीयवासीले अनुसन्धानमा दुई सातासम्म सक्रिय रहेका सुदूरपश्चिम प्रहरी प्रमुख नायव उपरिक्षक (डिआईजी) उत्तम सुवेदीसहितको टोलीलाई फूलमाला लगाएर सम्मान दिएका हुन्।

अनुसन्धान सकेर काममा फर्किएको प्रहरी अधिकारीको टोलीलाई विदाईका क्रममा यस्तो सम्मान दिइएको हो। डिआईजी सुवेदी आफैं १३ दिनसम्म घटनास्थल भागरथीको गाउँमा बसेर अनुसन्धानमा खटिएका थिए।

उनीसँगै प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरू जनकराज पाण्डे, मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीलाई त्यसरी विदाई गरियो।

अभियुक्त दिनेश भट्ट भागरथी पढ्ने सनातनधर्म माविमा कक्षा ११ मा अध्ययनरत छन्। पारिवारिक प्रतिशोध लिन हत्या गरेको उनले साविती बयान प्रहरीलाई दिएका छन्। प्रहरीले म्याद थपेर घटनाबारे मिहिन अनुसन्धान थालेको छ।

प्रतिक्रिया