

भागरथी हत्या प्रतिशोधको परिणाम, डिआईजी सुवेदी खटिएपछि दुई सातामै अभियुक्त नियन्त्रणमा

काठमाडौं– बैतडीकी भागरथी भट्ट बलात्कार र हत्या पारिवारिक प्रतिशोधको परिणाम रहेको बताइएको छ। प्रहरीले धेरै कुरा नखोले पनि भागरथीका बुवासँग लिन बाँकी रहेको प्रतिशोधलाई अभियुक्तका रुपमा पक्राउ गरिएका दिनेश भट्टले छोरीसँग भएको बयान दिएको बताइन्छ।
दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर नफर्किएपछि खोजी भएको थियो। सो क्रममा बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल जंगलमा फेला परेको थियो।
यसपछि यस हत्या प्रकरणका अभियुक्त खोजीको कार्यमा प्रहरी सक्रिय रहेको थियो। केही दिन भएका विरोधमा अभियुक्त सोही विद्यालयमा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट पनि सहभागी थिए। तर प्रहरीले उनलाई निगरानीमा राखेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा भागरथीको दुश्मनी, उनको परिवारसँग गाउँमा चिढिएकालगायतका व्यक्तिको बारेमा पनि बुझिरहेको थियो, प्रहरी। दिनेशसँग पनि बयान लिएर छाडेको थियो तर निगरानीमा राखेर।
डिआईजी खटिएपछि लापरवाही हुन पाएन
निर्मला पन्त प्रकरण जस्तो नहोस् भनेर सुदूरपश्चिम प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी आफैं घटनास्थलमा पुगेर अनुसन्धानमा खटिए। उनले प्रहरीका सबै खाले शक्तिलाई आफैं फिल्डमा रहेर उपयोग गरे।
अनुसन्धानमा उनको सक्रियताले प्रहरी सतर्क हुनुका साथै लापरवाही हुन पाएन। अनुसन्धानका क्रममा गाउँमा आउने जाने हरकोही माथि प्रहरीले रेकी गरिरहेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का अधिकारीले पनि गोप्य रुपमा गाउँमा आवत जावत गर्ने शंकास्पद व्यक्तिमाथि निरन्तरको रेकी गरेको थियो।
दुई सातासम्म प्रहरीले मिहिन अनुसन्धान गरेपछि अभियुक्तविरुद्ध प्रमाण र सबै प्रकारका आशंका केन्द्रित भएपछि पक्राउ गरिएको हो। अभियुक्त दिनेशले साविति बयान दिइसकेका छन्। उनले हत्या गर्नुको भित्री कारण भने प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ।

