महासचिवका लागि सुरेन्द्र पाण्डेको नाममा प्रचण्ड–नेपाल समूहको सहमति, जनवर्गीय प्रमुखको पनि टुंगो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको महासचिवमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नाममा सहमति जुटेको छ।

कुनै विवाद र किचलो उठ्ने वा नयाँ आकांक्षी नदेखिए महासचिवको दौडमा रहेका सबैले पाण्डेका नाममा सहमति जनाएका छन्।

प्रचण्ड–नेपालसहित अन्य शीर्ष तहका नेतामा सहमति जुटेपछि पाण्डेलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मत महासचिव अनुमोदनको तयारी भएको छ।

स्रोतका अनुसार बुधबार साँझसम्म अन्य जनवर्गीय संगठनका प्रमुखको टुंगो लगाउँदै विहीबार या शुक्रबार महासचिवसहित नयाँ जिम्मेवारी पाएका नेताको नाम अनुमोदनसहित घोषणा गरिनेछ।

अध्यक्ष र संसदीय दलको नेता टुंगो लगाए पनि उक्त समूहको किचलो महासचिवमा रहेको थियो।

‘सर्वसम्मत रुपमा महासचिवमा पाण्डेको नाम टुंगो लागेको छ, उक्त पदका आकांक्षी अन्य नेतालाई सचिवालयमा राख्ने सहमति पनि भएको छ’, स्रोतले भन्यो,‘सम्भवतः विहीबारसम्म जनवर्गीय संगठनका प्रमुखको पनि टुंगो लगाएर घोषणा हुनेछ।’

महासचिवका लागि बर्षमान पुनः, जनार्दन शर्मा, घनश्याम भुसाललगायतको स्पर्धा रहेको थियो। उक्त समूहले सचिवालयमा उपाध्यक्ष पनि चयन गर्ने तयारी गरेको छ। तर, उपाध्यक्ष भने दुई जनासम्म राख्नुपर्ने आवाज उठेको छ।

तत्कालिन एमालेका तर्फबाट भीम रावलको नाम अघि सारिएको छ भने तत्कालिन माओवादीका तर्फबाट एक जनालाई राख्ने छलफल जारी रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया