वामदेवलाई ओलीको प्रस्ताव : उपप्रधान तथा गृहमन्त्री बन्नुस्


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई फेरि चुनावी सरकारको उपप्रधान तथा गृहमन्त्री बन्न प्रस्ताव राखेका छन्।

नेकपाको विवाद उत्कर्षतिर पुगेदेखि नै वामदेवलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष, उपप्रधानमन्त्रीसहित अनेक प्रस्ताव गर्दै आएका ओलीले अहिले फेरि नयाँ प्रस्ताव राखेर आफ्नो पक्षतिर तान्न खोजेका हुन्।

एकीकृत नेकपामा उपाध्यक्ष रहेका गौतमले पछिल्लो समय पार्टी एकताका लागि राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन्। उनले  माघ १४ गते सो अभियानको घोषणा गरेका हुन्। उनले आफू ओली र प्रचण्ड–नेपाल नेतृत्वको दुवै समूहमा नभएकाे बताउँदै आएका छन् ।

यही बेला ओलीले आइतबार सरकारी निवास बालुवाटारमा बोलाएर गौतमलाई वैशाखमै चुनाव हुने भन्दै गृहमन्त्री बन्न आग्रह गरेका हुन्। गौतमनिकट एक नेताका अनुसार भेटमा उनले प्रधानमन्त्री ओलीलाई केही प्रतिप्रश्न गरेका थिए।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा अहिले विभाजित छ।

प्रतिक्रिया