

भागरथी भट्ट बलात्कार र हत्या अनुसन्धान निर्मला पन्तको जस्तो जटिल छैनः गृहमन्त्री

काठमाडौं– बैतडीकी भागरथी भट्ट बलात्कार र हत्याको अनुसन्धान निर्मला पन्तको जस्तो जटिल नभएकाले दोषी कानुनी कठघरामा उभ्याउने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
मंगलबार गृह मन्त्रालयमा सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वको प्रतिनिधि मण्डलसँग थापाले यस्तो बताएका हुन्। ‘सरकार गम्भीर छ हामी चाँडै दोषीलाई कारबाही प्रक्रियामा ल्याउँछौं’, उनले भने,‘यो निर्मला पन्तको जस्तो जटिल छैन।’
महिला हिंसा रोक्न सरकार गम्भीर रहेको बताउँदै उनले नेपाल प्रहरीमा महिला सेलको स्थापना पनि त्यसैको उद्देश्य रहेको बताए। थापाले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई कडा आदेश दिएको बताए।

