घैंटेको इन्काउन्टरपछि गुमनाम रहेका सानुभाईको ठमेलबाट उदय !


काठमाडौं – कुनै समय प्रहरीबाटै ज्यान जोगाउन फरार भएका टोलेगुण्डा राजधानीको मुटु मानिने ठमेलबाट पुनः गुण्डागर्दी सुरु गरेका छन् ।

कुमार श्रेष्ठ उर्फ ‘घैंटे’का प्रमुख सहयोगीका रुपमा रहेका सानुभाई भनिने युवराज गुरुङको समूहले ठमेलको एक क्लबका सञ्चालकमाथि आक्रमण गर्दै ठमेलमा गुण्डागर्दी पुनः मौलाएको झल्को दिएका हुन् ।

सानुभाइको समूहले क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरूङमाथि यही असार १५ गते शुक्रबार मध्यरात २ बजेर १६ मिनेटमा आक्रमण गरेका हुन् । नुवाकोट सूर्यगढी गाउँपालिका– १ का राजेन्द्र गुरुङलाई ककनी– ५ का स्थायी बासिन्दासमेत रहेका सानुभाइसहितको समूहले शुक्रबार राति क्लबमै पुगेर कुटपिट गरेको हो ।

युवराज गुरुङले कुटपिट गर्दै गरेको भिडियोसमेत सार्वजनिक भएको छ । युवराजले क्लबमा खाएको बिलसमेत नतिरेरै हिँड्ने गरेका थिए । लामो समय वैदेशिक रोजगारीपछि नेपाल फर्किएका राजेन्द्रले चार महिनाअघि मात्रै क्बल सञ्चालनमा ल्याएका थिए । सानुभाइको समूहले क्लबको भौतिक संरचनासमेत तोडफोड गरेका छन् ।

को हुन् युवराज गुरुङ ?

राजेन्द्र गुरुङलाई कुटपिट गर्ने युवराज गुरुङ विभिन्न आपराधिक घटनामा संलग्न हुँदै आएका आरोपी हुन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगी थिए । युवराजले यसअघि २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेका थिए ।

घैंटे मारिएपछि ‘घैंटेलाई इन्काउन्टर गर्ने प्रहरीलाई नै इन्काउन्टर गर्ने’ भन्दै हिँडेका सानुभाईको विषयमा अपराध महाशाखाले विशेष चासो राखेर खोजी गरेपछि उपत्यका छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले उनलाई २०७२ मा बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामा अत्याधुनिक लोडेड पेस्तोलसहित नुवाकोटबाट पक्राउ गरेको थियो । केही समय जेल बसेर निस्किएपछि उनी गुमनाम थिए । तर पछिल्लो समय प्रहरीको कमजोर कमाण्डिङको फाइदा उठाउँदै उनी पुनः गुण्डागर्दीमा लागेको देखिएको छ ।

सानुभाइकै समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथिसमेत आक्रमण गरेको थियो । घटनापछि व्यवसायी राजेन्द्रले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । हाल उनी फरार छन् ।

प्रतिक्रिया